| |

मेरिङ्देनमा कुकुर र बिरालोलाई रेबिजविरुद्ध खोप लगाइयो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, माघ १७ ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा कुकुर र बिरालोलाई रेबिज रोगविरुद्धको खोप लगाइएको छ । गाउँपालिकाका छ वटै वडामा करिव दुई सयवटा कुकुर र बिरालोलाई रेबिज रोगविरुद्ध खोप लगाइएको हो ।
गाउँपालिकाको पोषण सम्वेदनशील कार्यक्रमको पशुपन्छी विकास क्षेत्रअन्तर्गत वडा–वडामा शिविर सञ्चालन गरी स्थानीयले पालेका कुकुर र बिरालोलाई खोप लगाइएको हो । मेरिङ्देन गाउँपालिकाका पशु सेवा प्राविधिक राजन गुरागाईंका अनुसार प्रत्येक वडामा सञ्चालित पशु स्वास्थ्य शिविरमार्फत कुल १८५ वटा कुकुर र बिरालोलाई रेबिज रोगविरुद्ध खोप लगाइएको छ ।
गुरागाईंले १६४ वटा कुकुर र २१ वटा बिरालोलाई रोगविरुद्ध खोप लगाएको जानकारी दिनुभयो । उहाँकाअनुसार वडा नं. १ थिङ्लाबुमा ५२ वटा कुकुर र १० वटा बिरालोलाई खोप लगाइएको छ । यस्तै वडा नं. २ सान्थाक्रामा १३ वटा कुकुर, वडा नं. ३ खाम्लुङमा १४ वटा कुकुर, वडा नं. ४ लिङ्तेपमा ४३ कुकुर तथा १० वटा बिरालो, वडा नं. ५ थुकिमामा ४० कुकुर तथा एउटा बिरालो र वडा नं. ६ नाल्बुमा दुईवटा कुकुरलाई खोप लगाइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts