ताप्लेजुङमा ५३ जना कोरोना संक्रमित,पूर्ण खोपयुक्त जिल्ला बनाउन अब वडातहबाटै अभियान सुरु गरिने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १७ । ताप्लेजुङमा सोमवार सम्ममा ५३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार ६० जना संक्रमित रहेकोमा ७ जना संक्रमणमुक्त भएपछि सक्रिय संक्रमितको संख्या ५३ मा झरेको हो ।

स्वास्थ्य कार्यालयका कर्मचारी उदयनारायण दुलालका अनुसार फुङलिङ नगरपालिका,सिदिङ्वा गाउँपालिका,सिरिजङ्गा गाउँपालिका,पाथीभरा याङ्वरक गाउँपालिका,ताप्लेजुङ जिल्ला अस्पताल र मध्य तमोर जलबिद्युत आयोजनामा परीक्षणका क्रममा संक्रमित भेटिएका हुन् । संक्रमितको संख्या बढ्दै गएपछि कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले सजगता अपनाउन आग्रह गरेको छ । जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नमा कञ्जुस्याँइ गर्नाले कोरोना संक्रमणको दर बढ्ने विगतका घटनाहरुबाट पाठ सिक्दै स्वास्थ्य र सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न आग्रह गर्नु भएको छ । यसैबीच ताप्लेजुङका स्थानीय तहका प्रमुख सहित सरोकारवालाको सोमबारको बैठकले आउँदो चैत महिना अगावै कोरोना संक्रमण बिरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनाउन प्रतिबद्धता जुटाएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङले कोरोना संक्रमण बिरुद्धको खोपको अवस्थाको समिक्षा र आगामी दिनमा चालिने कदमका बारेमा छलफल गरेको आयोजना गरेको कार्यक्रममा पूर्ण खोपयुक्त जिल्ला बनाउने अभियानको अगुवाइ प्रत्येक वडापालिकाको संयोजनमा स्थानीय सरोकारवालाले गर्ने प्रतिबद्धता जुटेको स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलले जानकारी दिनुभयो ।

प्रत्येक नागरिकलाइ कोरोना बिरुद्धको खोप अनिवार्य गर्ने र वडातहबाटै पूर्ण खोपयुक्त वडा हुँदै पालिका सम्म आइपुग्ने हो भने यो कार्यमा कुनै समस्या नहुने निश्कर्ष सहित सरोकारवालाले २०७८ भित्रै पूर्ण खोपयुक्त बनाउने प्रतिबद्धता जनाएका हुन् । यसका लागि वडापालिकाले स्थानीय सरोकारवालाको सहभागितामा कोरोना बिरुद्ध खोप लगाउन छुटेका कोहि भए उनीहरुलाइ खोपको पहुँच सम्म लैजाने कार्यको अगुवाइ गर्नुपर्ने भएको छ । निमित्त स्वास्थ्य प्रमुख पोखरेलका अनुसार प्रदेश १ का १४ जिल्लामा ताप्लेजुङ र सुनसरीमात्र पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन बाँकी रहेको छ । प्रदेश १ भरमा कान्छो भएर पनि ताप्लेजुङका सबै पालिका साक्षर पालिका घोषणा भइसकेकोले पूर्ण खोपयुक्त र साक्षर जिल्ला एकैपटक घोषणा गर्नेगरी खोप अभियानलाइ वडातहबाट तीव्र बनाइने भएको छ ।

फोटो ः पूर्ण खोपयुक्त जिल्ला बनाउने बारे प्रतिबद्धता जुटाउन सोमबार भएको बैठकका सहभागी । तस्बिर ः इउज्यालो पोष्ट

अरुलाई पनि शेयर गरौ !

Similar Posts