| |

ताप्लेजुङका आधा दर्जन स्थानीय तह प्रमुख बिहीन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, माघ १६ ।
ताप्लेजुङका आधा दर्जन स्थानीय तह प्रशासकीय प्रमुखविहीन बनेका छन् । एक नगरपालिका र आठवटा गाउँपालिका गरी नौवटा स्थानीय तह रहेको जिल्लामा हाल आधा दर्जन अर्थात छवटा स्थानीय तह प्रशासकीय प्रमुख विहीन बनेका हुन् ।
कुनै स्थानीय तह करिव छ महिना अघिदेखि र कुनै केही सातायता प्रमुख विहीन बनेका हुन् । यहाँ स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरुको अन्यत्र सरुवा भएको र सो ठाउँमा तत्काल पदपूर्ति नहुँदा प्रमुख विहीन बनेका हुन् । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका सबैभन्दा लामो समयदेखि अर्थात विगत छ महिनादेखि प्रमुख विहीन रहेको छ ।
यस्तै मिक्वाखोला गाउँपालिका करिव तीन महिनादेखि प्रमुख प्रशासकीय विहीन बनेको छ भने मेरिङ्देन गाउँपालिका, सिदिङ्वा गाउँपालिका एक महिनादेखि प्रमुख विहीन छन् । पाथीभरा याङ्वरक र सिरिजङ्घा गाउँपालिका केही साता अघिदेखि कार्यालय प्रमुख विहीन बनेका छन् । लामो समयदेखि कार्यालय प्रमुख विहीन हुँदा उक्त स्थानीय तहहरुको कतिपय काम प्रभावित बनेका छन् भने हाल पनि कार्यसम्पादनमा केही असहजताहरु रहँदै आएको बताइएको छ ।
कार्यालय प्रमुख नभएका स्थानीय तहमा कतिपय कर्मचारी र शिक्षकले समयमा तलब खान पाएका छैनन् भने महत्वपूर्ण कामहरुमा बाधा अवरोध पुगेको पाइएको छ । ती स्थानीय तहका जनप्रतिनिधिहरुले पनि कार्यालय प्रमुख नहुँदा कतिपय काममा प्रभाव पर्दै आएको बताउने गर्नुभएको छ । अझै कार्यालय प्रमुखको पदपूर्ति कहिले सम्ममा हुन्छ भन्ने विषयमा कुनै जानकारी नभएको पनि जनप्रतिनिधिहरुको भनाइ छ ।
हाल जिल्ला सदरमुकाम अवस्थित फुङ्लिङ नगरपालिका, आठराई त्रिबेणी गाउँपालिका र मैवाखोला गाउँपालिकामा मात्र कार्यालय प्रमुख (प्रमुख प्रशासकीय अधिकृत) कार्यरत रहनुभएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts