|

बैंकर क्लव ताप्लेजुङले जिल्ला रेडक्रसलाइ बुझायो ७५ जनाको रक्तसमूह

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १५ । बैंकर क्लव ताप्लेजुङले आबद्ध बैंकमा कार्यरत कर्मचारीहरुको रक्तसमूह(ब्लडग्रुप) शुक्रवार जिल्ला रेडक्रस सोसाइटीलाइ हस्तान्तरण गरेको छ ।

हिमाली जिल्ला ताप्लेजुङमा ब्लड बैंक छैन । ब्लड आवश्यकता परेको बेला जिल्ला रेडक्रस सोसाइटीमा राखिएको ब्लडग्रुप अनुसारका मानिसहरुलाइ रक्तदानका लागि अनुरोध गरेर अहिले सम्म ब्लडको खाँचो टारिदै आएको छ । सोहि अनुसार बैंकर क्लव ताप्लेजुङले ७५ जनाको नाम र रक्तसमूह जिल्ला रेडक्रस सोसाइटीलाइ हस्तान्तरण गरेको हो । बैंकर क्लव ताप्लेजुङका अध्यक्ष अनिल श्रेष्ठले बैंकर क्लवमा आबद्ध ७५ जनाको नाम र रक्त समूह जिल्ला रेडक्रस सोसाइटीका सभापति इन्द्रबहादुर गुरुङलाइ हस्तान्तरण गर्नु भएको छ । ब्लडको आवश्यकता परेको बेला आफुहरुले दिएको नाम र रक्तसमूह अनुसार रक्तदानका लागि आग्रह गर्न सहज होस् भनेर आफुहरुले यो नामावली जिल्ला रेडक्रस सोसाइटीलाइ उपलब्ध गराएको श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला रेडक्रस सोसाइटीले ब्लड बैंक सञ्चालनमा ल्याउनका लागि प्रकृया भने अन्तिम चरणमा पु¥याएको छ ।

अहिलेसम्म ब्लड बैंक नभएकोले ब्लड आवश्यकता परेको खण्डमा स्थानीयबासी,यहाँस्थित नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी र अन्य व्यक्तिहरुलाइ रेडक्रसकातर्फबाट रत्तदान गर्न आग्रह गरिदैं आएको जिल्ला रेडक्रस सोसाइटीका सभापति गुरुङले बताउनुभयो । रेडक्रस ताप्लेजुङका मन्त्री विकास गौतमले रेडक्रसकोतर्फबाट रक्तदाताहरुको खोजी र रक्तदान प्रकृयामा सहजीकरण गर्दै आइहनु भएको छ । बैंकर क्लव ताप्लेजुङका सल्लाहकार संगमदीप श्रेष्ठले सामाजिक प्राणी हुनुको नाताले आफुहरुले सामाजिक दायित्व पूरा गर्ने क्रममा देख्दा सानो तर महत्वपूर्ण कार्य गर्न पाएको बताउनुभयो । बैंकर क्लव ताप्लेजुङले सदरमुकाम बाहेक जिल्लाका अन्य स्थानमा रहेका बैंकमा कार्यरतहरुलाइ समेत समेटेर क्लवलाइ थप बिस्तार गर्ने र उहाँहरु समेतको नामावली र रक्तसमूह जिल्ला रेडक्रस सोसाइटीलाइ उपलब्ध गराउने तयारी भइरहेको जनाएको छ ।

बैंकर क्लवको यो कार्यको सह्रना गर्दै जिल्ला रेडक्रस सोसाइटीका उपसभापति टामन सिग्देल,ताप्लेजुङ उद्योग बाणिज्य संघका दिनेश अधिकारी,ताप्लेजुङ जिल्ला अस्पतालका बिजया राईलगायतले यस्ता कार्यले सामाजिक जीवनमा महत्वपूर्ण योगदान पुग्ने बिश्वास लिनुभयो । स्थानीय स्तरमा बैंक तथा बित्तीय संस्थामा देखिएका समस्या पहिचान गरी बैंकिङ सेवालाइ सहज रुपमा जनतामाझ लैजाने, बैंक तथा बित्तीय संस्थामा कार्यरत कर्मचारीहरुलाइ आफ्नो कर्तव्य र जिम्मेवारी प्रति प्रतिबद्ध बनाउने,समस्या परेका बखत सहयोग र सहजीकरण गर्ने, बैंक तथा बित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको हकहितका लागि पैरवी गर्ने,नेपाल सरकारका निकाय तथा स्थानीय तह र वडापालिकासंग समेतको सहकार्यमा बित्तीय साक्षरता अभियान चलाउने लगायतका कार्य गर्न भन्दै हप्तादिन अघि बैंकर क्लव स्थापना भएको थियो ।

फोटो ः नाम र ब्लडग्रुप जिल्ला रेडक्रस सोसाइटीका सभापति इन्द्रबहादुर गुरुङलाइ हस्तान्तरण गर्दै बै.कर क्लव ताप्लेजुङका अध्यक्ष अनिल श्रेष्ठ ।

Similar Posts