किरात सिरिजङ्गा लिपि समायोजन विज्ञ कार्यदलको प्रतिबेदन ताप्लेजुङमा जलाइयो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १० । किरात सिरिजङ्गा लिपि समायोजन विज्ञ कार्यदलको प्रतिबेदनलाइ‘तथाकथित’ भन्दै आन्दोलन स्वरुप सिरिजङ्गा लिपि बचाउ अभियानले ताप्लेजुङमा विज्ञ कार्यदलको प्रतिबेदन जलाएको छ ।

सिरिजङ्गा लिपिलाइ किराँत सिरिजङ्गा लिपि बनाएर सिरिजङ्गा लिपिको मौलिकता नष्ट गरिएको भन्दै सिरिजङ्गा लिपि बचाउ अभियानले कार्यदलले थप गरेका लिपिहरु बिरोध स्वरुप जलाएको हो । याक्थुङ भाषा अनुसार उच्चारण गर्न नसकिने केहि अक्षर थपेर सिरिजङ्गा लिपिको मौलिकता नष्ट गरिएको बिरोधमा किरात सिरिजङ्गा लिपि समायोजन विज्ञ कार्यदलको प्रतिबेदन जलाइएको सिरिजङ्गा लिपि बचाउ अभियानका अभियान्ता लक्ष्मण मेन्याङ्वोले बताउनुभयो । सिरिजङ्गाले दिएको बलिदानीपूर्ण योगदानको मर्म र भावना बिपरित राखिएको किराँत सिरिजङ्गा लिपि नामाकरणबाट ‘किराँत’हटाएर सिरिजङ्गा लिपि मात्र राखिनुपर्ने आफुहरुको माग रहेको मेन्याङ्वोले बताउनुभयो ।

अर्का अभियान्ता पदम चेञ्जी मावोका अनुसार किरात सिरिजङ्गा लिपि समायोजन विज्ञ कार्यदलले समायोजनका नाममा याक्थुङ लिम्बू बोलीचालीमा उच्चारण नै नहुने अक्षरहरु थप गरेको छ । उहाँका अनुसार सिरिजङ्गा लिपिमा २५ वटा व्यञ्जन वर्ण थिए । कार्यदलले त्यसमा २३ वटा थप गरी ४८ वटा पु¥याएको मावोले बताउनुभयो । यस्तै सिरिजङ्गा लिपिमा ७ वटा स्वरवर्ण तथा सोहिभित्र ५ वटा ह्रस्व–दीर्घ सहित १२ अक्षर रहेकामा समायोजन कार्यदलले ५ वटा थप गरेर १७ पु¥याएको समेत उहाँले बताउनुभयो । उहाँका अनुसार याक्थुङ लिम्बू बोलीचालीमा उच्चारण नै नहुने ट,ठ,ड,ढ ण जस्ता अक्षरहरु थपिएका छन् । उहाँले थपिएका अक्षरलाइ अनावश्यक र असान्दर्भिक भएको प्रतिक्रिया दिनुभयो ।

सिरिजङ्गा लिपि बचाउ अभियानले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी कार्यदलको प्रतिबेदनले सिरिजङ्गा लिपिको मौलिकतामा आँच पुगेको तथा बौद्धिक सम्पति नष्ट गर्न खोजेको आरोप समेत लगाएको छ । कार्यदलको प्रतिबेदनले सिरिजङ्गा लिपिको मौलिकतामा अतिक्रमण गरेकोले त्यसबिरुद्ध आन्दोलनमा उत्रनु परेको सिरिजङ्गा लिपि बचाउ अभियानका ताप्लेजुङ संयोजक मेन्याङ्वोले बताउनुभयो । अभियान्ता काजीमान पालुङ्वाले अहिले सम्म प्रयोगमा रहेको सिरिजङ्गा लिपिमा अनावश्यक थप तथा मोडमोड गरेर याक्थुङ लिम्बू बोलीचाली भाषामा गरिएको अतिक्रमण अविलम्ब सच्चिनुपर्ने बताउनुभयो । कार्यदलको प्रतिबेदन नसच्चिए सम्म आन्दोलनमा रहने तयारी गरिरहेको सिरिजङ्गा लिपि बचाउ अभियानले माघ १५ गते आन्दोलन र बिरोधका कार्यक्रम सार्वजनिक गर्ने बताएको छ ।

किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात राई यायोक्खालगायत संस्था संवद्ध किरात समन्वय समितिले केही महिनाअघि ‘किरात सिरिजङ्गा लिपि समायोजनसम्बन्धी कार्यदल–२०७८’ गठन गरेको थियो । भाषाशास्त्री डा. तारामणि राई संयोजक रहेको कार्यदलले किरात भाषाहरूमा रहेका ४८ व्यञ्जन वर्ण र १२ स्वरवर्णअनुसार किरात सिरिजङ्गा लिपि समायोजन गरी प्रतिवेदन बुझाएको थियो । सो प्रतिबेदनको बिरोधमा सिरिजङ्गा लिपि बचाउ अभियानमार्फत आन्दोलन सुरु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts