| |

ताप्लेजुङमा तेस्रो पटक हिमपात, चिसोले जनजीवन प्रभावित

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, माघ ७ ।
ताप्लेजुङमा तेस्रो पटक बाक्लो हिमपात भएको छ । बिहीबार अपराह्नदेखि सुरु भएको हिमापात शुक्रबार बिहानसम्म नै जारी रहेको थियो । हिमपातसँगै बढेको चिसोका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
सामान्य वर्षासँगै हिमपात भएको र जिल्लाको उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ थुप्रेको छ । स्थानीयका अनुसार हिमापातसँगै उच्च डाँडाहरु सेताम्मे भएको छ । हिमाली बस्तीहरु ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, फले, तोक्पेगोला, ग्याब्ला लगायतमा बाक्लो हिउँ परेको स्थानीयको भनाइ छ । फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ वालुङले गोला बस्तीमा एक फिट बढी हिउँ थुप्रेको बताउनुभयो ।
यस्तै फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा र फलेमा पनि बाक्लो हिउँ परेको घुन्साका स्थानीय पेमा शेर्पाले जानकारी दिनुभयो । घुन्सामा करिव डेढ फिटसम्म हिउँ थुप्रेको शेर्पाले बताउनुभयो । नजिकैको फलेमा पनि भारी हिउँ परेको उहाँको भनाइ छ । जिल्लाकै उच्च हिमाली बस्ती याङ्मा (४,२०० मिटर) मा पनि निक्कै बाक्लो हिउँ परेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार यसपटक हिमाली क्षेत्रको तल्लो बस्तीसम्म नै हिउँ परेको छ ।
यता तीन हजार ७९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि भारी हिमपात भएको छ । फेदी बजारका स्थानीय व्यवसायी राजेन्द्र महतका अनुसार पाथीभरा धाम क्षेत्रमा करिव एक फिटसम्म हिउँ थुप्रेको छ । धामसँगै पाथीभरा क्षेत्रको फेदीबजार, काफ्लेपाटी, सेवारो चौक, देउराली र गुप्तेसम्म नै निक्कै हिउँ परेको छ । हिउँका कारण तीर्थयात्री प्रभावित बनेका महतको भनाइ छ ।
सुकेटार बजार, विमानस्थल र पैँयुबोटे सानो पाथीभराभन्दा तलसम्म हिउँ परेको स्थानीय हर्कराज गुरुङले जानकारी दिनुभयो । उहाँकाअनुसार यसअघि पहिलो र दोस्रो पटक हिमपातका बेलाभन्दा यसपटक तल्लो क्षेत्रसम्म नै हिउँ आइपुगेको हो । त्यस्तै जिल्लाको पापुङ तोक्पेगोला, साँघुको मिल्के, कालिखोलाको तिम्बुङ पोखरी क्षेत्र लगायतमा भारी हिमपात भएको स्थानीयले बताएका छन् ।
हिमाली क्षेत्रमा भारी हिमपात हुँदा चिसोले जिल्लाको जनजीवन प्रभावित बनेको छ । चिसोले सदरमुकाम फुङ्लिङबजारसहित सिङ्गो जिल्लाको जनजीवन प्रभावित बनाएको छ । चिसोका कारण बालबालिका र वृद्धवृद्धामा बढी प्रभाव परेको छ भने पशुचौपायालाई पनि असर पुर्याएको छ । यसअघि जिल्लामा पहिलो पटक गत पुस १३ र १४ गते हिमपात भएको थियो भने दोस्रो पटक पुस २९ गते हिमपात भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts