| |

तमोरखोला क्षेत्रमा इन्टरनेट सेवा विस्तार

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, पुस २५ ।
ताप्लेजुङको दुर्गम तमोरखोला क्षेत्रमा इन्टरनेट सेवा विस्तार गरिएको छ । तमोरखोला क्षेत्रअन्तर्गत फक्ताङ्लुङ गाउँपालिकाको तीनवटा वडामा स्मार्ट लिङ्कको इन्टरनेट विस्तार गरी सेवा सुचारु गरिएको हो ।
फक्ताङ्लुङ गाउँपालिका वडा नं. १ सावादिन, वडा नं. २ खेजेनिम र वडा नं. ३ लिङ्खिममा बुधबारदेखि इन्टरनेट सेवा सुचारु गरिएको हो । हालसम्म इन्टरनेट सुविधाको पहुँच नपुगेको उक्त क्षेत्रमा स्थानीय युवाहरुको पहलमा इन्टरनेट सेवा पु¥याइएको हो । खेजेनिमका वडा सदस्यसमेत रहनुभएका स्थानीय युगेन अन्छङ्बोका अनुसार दुर्गम गाउँसम्म इन्टरनेट सेवा विस्तार गर्नलाई १५ जना जति युवाको पहलबाट सम्भव भएको हो ।
सदरमुकाम फुङ्लिङदेखि आठ कोष टाढा रहेको खेजनिमसहित उक्त क्षेत्रमा सेवा प्रदायक स्मार्ट लिङ्क कम्पनीसँग समन्वय गरेर आफूहरुले इन्टरनेट सेवा पु¥याएको अन्छङ्बोले बताउनुभयो । पाँचथरको लालीखर्क नजिक पाप्ले भञ्ज्याङ क्षेत्रमा टावर राखेर तमोरखोलासम्म इन्टरनेट विस्तार गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँसम्म इन्टरनेट विस्तार गर्नका लागि पात्ले भञ्ज्याङसहित सदरमुकाम फुङ्लिङको हेलिप्याट र खजेनिम तथा इखाबुको सिमाना सुङ्जा डाँडासमेत तीन ठाउँमा टावर राखिएको छ ।
तत्कालका लागि बढीमा चारसय घर अर्थात डिभाइससहित सेवाग्राहीले उपभोग गर्न मिल्ने क्षमताको इन्टरनेट सेवा विस्तार गरिएको अन्छङ्बोले बताउनुभयो । दुर्गम तथा टाढा दूरीसम्म इन्टरनेट सेवा विस्तार गर्नुपरेकाले लागत खर्च भने करिव ३५ लाख रुपियाँ भएको पनि उहाँले जानकारी दिनुभयो । यहाँका अनुसार उक्त रकम पनि १५ जनाको युवा समूहद्वारा नै जुटाइएको हो ।
यता इन्टरनेट सेवा विस्तार भएसँगै स्थानीयले सेवा उपभोग गर्न पनि थालेका छन् । लिङ्खिमको सिँवाबजार र खेजेनिम गाउँमा सेवाग्राहीले इन्टरनेट उपभोग गर्न थालेका छन् । अन्छङ्बोका अनुसार एकजना सेवाग्राहीले डिभाइस, राउटर, तार लगायत आवश्यक सामग्रीसहित इन्टरनेट जडानका लागि १६ हजार ५०० रुपियाँ खर्च गर्नुपर्ने भएको छ । उक्त खर्चबाट ७२ एमवीपीएस क्षमताको इन्टरनेट जडान हुने एक महिनासम्म निःशुल्क प्रयोग गर्न पाइने छ । त्यसपछि ग्राहकले मासिक एकहजार २०० रुपियाँ शुल्क बुझाउनुपर्ने जनाइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts