| |

हिउँमा फसेको छ दिनपछि सकुशल घर फर्किए बाबुछोरा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, पुस २० ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका शेर्पा परिवारका बाबुछोरा हिउँमा फसेको छ दिनपछि सकुशल घर फर्कनुभएको छ । । गएको बुधबारदेखि हिउँमा फस्नुभएका उहाँहरु सोमबार फसेको ठाउँबाट निस्कन सफल भई घर फर्कनुभएको हो ।
गत साताको मङ्गलबार र बुधबार ताप्लेजुङसहित देशभर भारी हिमपात भएको र सो हिउँमा फस्नुभएका पापुङका स्थानीय ५५ वर्षीय लाक्पाटासी शेर्पा र छोरा १५ वर्षीय पासाङ शेर्पासकुशल निस्कनुभएको हो । पापुङका वडाध्यक्ष डण्डु लामाका अनुसार शेर्पा बाबुछोरा छ दिनपछि सोमबार अपराह्न सकुशल घर आइपुग्नुभएको छ । हिउँ पहिरोले बगाएका कारण उहाँहरुको शरीरमा सामान्य चोट देखिएको वडाध्यक्ष लामाले बताउनुभयो ।
हिउँमा फसेपछि दिनसम्म केही खान नपाउनुभएका उहाँहरुको बाँकी स्वास्थ्य भने सामान्य रहेको लामाले जानकारी दिनुभयो । उहाँका अनुसार बाबुछोरा घर आइपुग्ने बित्तिकै स्थानीय स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गरिएको थियो । पापुङकै लोदेन तीनपोखरी क्षेत्रमा याक गोठमा बस्दै आउनुभएका उहाँहरु सोही ठाउँमा हिउँ पहिरोमा फस्नुभएको थियो । हिउँ पहिरोे बगाउने क्रममा बीचमा ओडार भेटिएपछि सो ओडारमा बसेर उहाँहरु बाँच्न सफल हुनुभएको पनि वडाध्यक्ष लामाले बताउनुभयो ।
बुधबारपछि मौसममा सुधार आएसँगै क्रमशः हिउँ पग्लन थालेकाले उहाँहरु बाहिर निस्कन सफल हुनुभएको बताइएको छ । यता बाबुछोरा हिउँमा फसेको खबर तीन दिनपछि पाएलगत्तै शनिबारदेखि हेलिकप्टरमार्फत उद्दारको प्रयास गरिएको थियो । शनिबार र आइतबार दुई दिनसम्म अल्टिच्युट एयर कम्पनीको हेलिकप्टरमार्फत उद्दारको प्रयास गरिए पनि उहाँहरु फसेको ठाउँ पत्ता नलागेका कारण सम्भव भएको थिएन ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेसमेतको समन्वयमा उहाँहरुको उद्दारको प्रयास भएको थियो । त्यस्तै सोमबार पनि उद्दारकै प्रयास भइरहेका बेला उहाँहरु एक्कासी घर आइपुग्नुभएको बताइएको छ । दुई दिनसम्म उद्दारको प्रयासमा प्रयोग गरिएको हेलिकप्टर खर्च भने छ लाख रुपियाँ बढी आएको वडाध्यक्ष लामाले जानकारी दिनुभयो ।
यता हिउँमा फसेका बाबुछोराको खोजीमा आइतबार बिहानदेखि लोदेन क्षेत्रमा खटेका तीनजना स्थानीय युवक भने सोमबार साँझसम्म सम्पर्क बिहीन बन्नुभएको छ । तत्काललाई सम्पर्क बिहीन भए पनि खानपानसहित बन्दोबस्तीका सामग्री साथमा लिएर गएका कारण युवकहरुमा जटिल समस्या आइनपर्ने वडाध्यक्ष लामाको भनाइ छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts