| |

ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात, बढ्यो चिसो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, पुस ९ ।
ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । शुक्रबार बिहानदेखि हिमाली क्षेत्रमा हिमपात शुरु भएको हो ।
उच्च हिमाली क्षेत्रसँगै ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, फले लगायतका हिमाली बस्तीसम्म नै हिमपात भएको स्थानीयले बताएका छन् । जिल्लाकै उच्च हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाको याङ्मा (४,२०० मिटर मिटर), वडा नं. ६ लेलेपको घुन्सा (३,४०० मिटर), फले (३,१५० मिटर) मा हिउँ परेको छ ।
तीन हजार २०० मिटर उचाइ रहेको ओलाङ्चुङगोला बस्तीमै शुक्रबार अपराह्नपछि हिउँ पर्न थालेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिनुभयो । वालुङका अनुसार ओलाङ्चुङगोलामा हिउँ पर्ने क्रम जारी रहेको छ । त्यस्तै घुन्सामा निक्कै बाक्लो हिउँ परेको स्थानीय पेमा शेर्पाले जानकारी दिनुभयो । घुन्सा बस्तीमा बिहीबार रातिदेखि नै हिउँ पर्न थालेको शेर्पाले बताउनुभयो ।
उहाँका अनुसार उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ भने घुन्सा, फले लगायतका बस्तीहरुमा निरन्तर हिमपात भइरहेको छ । बस्तीसम्म नै हिउँ परेपछि स्थानीयको जनजीवन प्रभावित बन्दै गएको पनि उहाँले जानकारी दिनुभयो । हिमपातपछि चिसोका कारण सर्वधारण घर बाहिर निस्कनलाई समस्या भएको छ भने पशुचौपायामा पनि निक्कै प्रभाव परेको स्थानीयको भनाइ छ ।
केही दिन अघिदेखि नै चिसो बढ्न थालेपछि घुन्सा आधारभूत विद्यालयसमेत गत सातादेखि नै बन्द गरिएको शिक्षक केल्साङ शेर्पाले जानकारी दिनुभयो । चिसोसँगै हिमपात सुरु भएपछि हिमाली बस्तीका बासिन्दा न्यानो कपडा र आगो तापेर घरभित्रै बस्न थालेको शेर्पाले बताउनुभयो ।
यता प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा समेत हिमपात भएको छ । पुजारी डिल्ली आचार्यका अनुसार पाथीभरा धाम परिसरमा करिव एक फिट बढी हिउँ जमेको छ भने माथिल्लो फेदी, तल्लो फेदी र काफ्ले पाटीसम्म नै हिउँ परेको छ । दुई हजार ४०० मिटर उचाइ रहेको सुकेटार विमानस्थल क्षेत्रमा समेत सामान्य हिउँ परेको स्थानीय रुद्र तिवारीले जानकारी दिनुभयो ।
जिल्लाको खोक्लिङ, साँबा, पापुङ, फाकुम्बा, निघुरादिन, साँघु, कालीखोला, मामाङ्खे, याम्फुदिन, खेबाङ लगायत गाउँको उच्च क्षेत्रमा बाक्लो हिउँ परेको छ भने हिउँ पर्ने क्रम जारी रहेको स्थानीयले बताएका छन् । यसरी उच्च हिमाली क्षेत्र र बस्तीमा हिमपात शुरु भएपछि चिसोले सिङ्गो जिल्लाको जनजीवन प्रभावित भएको छ ।
सदरमुकाम फुङ्लिङ बजारमासमेत निक्कै चिसो बढेका कारण मानिसको चहलपहल पनि ह्वात्तै घटेको छ । यता शुक्रबार साँझपछि सदरमुकामसहित जिल्लाका विभिन्न ठाउँमा सामान्य वर्षासमेत भएको छ । हिमपात र वर्षाका कारण जिल्लाको जनजीवन थप प्रभावित बन्दै गएको स्थानीयको भनाइ छ । हिउँ र वर्षा भएपछि स्थानीय किसान भने हर्षित भएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts