|

ट्राफिक प्रहरी संगै सवारी नियम पालनाको सन्देश प्रवाह गर्न बिद्यार्थी पनि सडकमा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ६ । मेची राजमार्गको बहानन्दे–हेलिप्याड सडक खण्डमा अहिले हातमा पर्चा र पम्प्लेट बोकेका बिद्यार्थीहरुले सवारी नियम पालना गर्न चालक तथा यात्रु दुुबैलाइ सन्देश दिइरहेको दृश्यले धेरैका मनमा खुल्दुली जगाउँछ । पहिलो पटक तपाँइले यो कुरा सुन्दा तपाँइ आफैंलाइ पनि लाग्ला आखिर किन बिद्यार्थीहरु सडकमा आए त ? तपाँइको मनमा उठेको प्रश्नको उत्तर धेरै सहज छ । स्वयंसेवकको बिल्ला भिरेका बिद्यार्थीहरु सवारी दुर्घटना न्यूनीकरणका सन्देश बोकेर ट्राफिक प्रहरीका साथ देखिने गर्छन् । सडक सुशासन कायम गर्दै सवारी दुर्घटना न्यूनीकरणका लागि चेतना प्रवाह गर्न बिद्यार्थीहरु सडकमा देखिएका हुन् ।

ताप्लेजुङ सहित प्रदेश १ का १४ जिल्लामा आइतवारबाट सप्ताहव्यापी ट्राफिक अभियान सुरु भएको छ । प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले देशभरका ट्राफिक प्रहरी कार्यालयमार्फत यो अभियान अघि बढाएको हो । ट्राफिक सप्ताह कार्यक्रम अवधिभर सवारी चालक तथा सह–चालकलाई जनचेतना अभिवृद्धि गराउने,ट्राफिक सचेतनामूलक पर्चा तथा पम्प्लेट वितरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख,प्रहरी सहायक निरीक्षक रोहित थापाले चालक तथा यात्रु दुुबैलाइ सवारी नियम पालनाका सन्देश प्रवाह गर्न बिद्यार्थीहरुले पनि समेत स्वयंसेवी भूमिका निर्वाह गरिरहेको बताउनुभयो । पहिलो चरणमा फुङ्लिङस्थित तमोर इङ्लिस बोर्डिङ स्कुलका बिद्यार्थीले सहयोग गरेको थापाले जानकारी दिनुभयो । तमोर इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल तरुण भारतीले बिद्यार्थीहरुले ट्राफिक सप्ताह अभियानमा स्वयंसेवी भूमिका निर्वाह गरेको बताउनुभयो । टोलीको नेतृत्व दिवस निरौला,रेखा सुनुवार,प्रेक्षा नेपाल,स्वीकृति तामाङ,नेहा लिम्बू र समिर तामाङ लगायतको अगुवाइ रहेको भारतीले जानकारी दिनुभयो ।

अभियान अन्र्तगत सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने कुराहरूको विषयमा सडकमै प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिएको छ । यस बाहेक विद्यालय सम्पर्क कार्यक्रम तथा सार्बजनिक स्थलहरूमा समेत सडक प्रयोगकर्ताहरू भेला जम्मा गरी ट्राफिक नियम सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेका छन् । ‘स–साना भाइ बहिनीहरु समेतको सहभागितामा चालक,सहचालक र यात्रुलाइ सवारी नियमका बारेमा सचेतना प्रवाहको कार्य रोमाञ्चक र प्रभावकारी हुने देखिएको छ’जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख थापाले बताउनुभयो । पुस १० गते सम्म चल्ने अभियान प्रभावकारी बनाउन सबै पक्षसंग समन्वय भइरहेको र सहयोग प्राप्त हुने अपेक्षा समेत उहाँले लिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts