ताप्लेजुङमा राष्ट्रिय सेवा दल(एनसीसी) ४७ औं ब्याचको तालिम सुरु हुँदै

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १४ । युवाशक्तिलाइ कर्मठ,लगनशिल,देशभक्त र आत्मबिश्वासी बनाउने अभियान स्वरुप ताप्लेजुङको फुङ्लिङमा आउँदो १९ गतेबाट राष्ट्रिय सेवा दलको ४७ औं संस्करणको तालिम सञ्चालन हुने भएको छ । फुङ्लिङस्थित लिटलबुद्ध बोर्डिङ स्कुलमा अध्ययनरत ३६ जना बिद्यार्थी छनौटको कार्य सुरु भएको छ । भीमकाली गुल्मका सहसेनानी कौशल कार्कीले १८ छात्र र १८ छात्रालाइ छनौट गरी तालिम दिइन लागेको जानकारी दिनुभयो । लिटलबुद्ध इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरीका अनुसार बिद्यालयमा अध्ययनरत करिव १ सय ५० जना भित्रबाट राष्ट्रिय सेवा दलको तालिमका लागि योग्य ३६ जनाको छनौट हुने छ । छनौटको कार्य सेवा दलका लागि खटिएको टोलीले आफैं गर्ने समेत उहाँले बताउनुभयो । राष्ट्रिय सेवा दल एक स्वयमसेवक दस्ताको रुपमा परिचित छ । तालिमप्राप्त राष्ट्रिय सेवा दलका सदस्यलाइ विपतको बेला आवश्यकताअनुसार परिचालन गर्न सकिन्छ । यो तालिम लिन विद्यार्थीको उमेर १४ देखि २४ वर्षको हुनुपर्छ । सबैभन्दा पहिला तालिमका लागि विद्यार्थी तयार हुनुपर्छ, त्यसपछि अभिभावकको स्वीकृति चाहिन्छ । सय दिनको यो तालिममा पिटी परेड गराइन्छ भने कतिपय व्यवहारिक ज्ञान पनि सिकाइने गरिन्छ । ‘तालिमको मुख्य उद्धेश्य कुशल यूवा दस्ता बनाउने हो’सहसेनानी कार्कीले भन्नुभयो,‘यूवाहरूको क्षमता अभिवृद्धि गरेर अनुशासित दस्ता बनाउन यो अभियान प्रयोग गरिन्छ । जुनियर डिभिजन र सिनियर डिभिजन गरी दुई प्रकारका तालिम रहेका हुन्छन् । जुनियर डिभिजनमा ८ देखि १० कक्षाका विद्यार्थी हुन्छन् भने सिनियर डिभिजनमा ११ र १२ कक्षाका विद्यार्थी हुन्छन् । दुबै प्रकारको तालिम कार्यक्रमलाई संस्थागत तह र वार्षिक क्याम्प तहमा विभाजित गरिएको हुन्छ । दुबै तालिम कार्यक्रममा ७९ दिनको संस्थागत तहको तालिम र २१ दिनको वार्षिक क्याम्प सञ्चालन गरिन्छ । तालिममा मास पि.टी,ड्रिल,विपद्को अवस्थामा स्वयंसेवकको भूमिका तथा कर्तव्यलगायतका ज्ञान सिकाइन्छ ।
सिनियर डिभिजनका लागि हतियार तालिम तथा फायरिङ, घोडचढी, रक क्लाइम्बिङलगायत पनि सिकाइन्छ । राष्ट्रिय सेवा दलको ४७ औं ब्याचको तालिम सञ्चालन हुनुपूर्व लिटिलबुद्ध इङ्लिङ बोर्डिङ स्कुलले आयोजना गरेको कार्यक्रममा भीमकाली गुल्मका उपसेनानी जगत खड्काले राष्ट्रिय सेवा दल,यसको महत्व र कर्तव्यका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा फुङ्लिङ नगरपालिका वडा नं ८ का वडासदस्य बिनोद गुरुङ,औषधि व्यवसायी संघ ताप्लेजुङ– पाँचथर संयुक्त समिति अध्यक्ष सुन्दरमोहन शाक्य,ताप्लेजुङ बुद्ध बोर्डिङ स्कुलका प्रिन्सिपल तथा जिल्ला प्याब्सनका पूर्व अध्यक्ष इन्द्र गुरुङ,पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतम पूर्व अध्यक्ष तथा उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारी लगायतले शुभकामना दिनु भएको थियो ।