|

औपचारिक रुपमै ताप्लेजुङबाट बिदा भयो वन हर्ट ः मातृ तथा नवजात शिशुको मृत्युदरमा कमी आउन थालेको प्रतिबेदन

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १३ । वन हर्ट वल्ड वाइडले ताप्लेजुङमा मातृ तथा नवजात शिशुको मृत्युदरमा क्रमशःकमी आउँदै गरेको बताएको छ । उसले प्रसुतिका लागि जिल्ला बाहिर लैजानुपर्ने अवस्थाका बिरामीहरुको संख्या पनि बर्षेनि कमी आउन थालेको बताएको छ । वन हर्टमातृ तथा नवजात शिशुको स्वास्थ्य सेवाको माग,सेवा प्रदान,सेवा प्रदायकको क्षमता अभिबृद्धि र सेवाको गुणस्तर सुधारको मुख्य कार्यमा काम गरिरहेको निकाय हो । ताप्लेजुङमा यो निकायले करिव ६ बर्ष काम गरेर औपचारिक रुपमा बिदा माग्दै आफ्नो कार्यकालभर भएगरेका प्रगति बताएको छ ।‘स्वास्थ्य क्षेत्रलाइ प्रमुख प्राथमिकता राखेर काम गरेको वन हर्टले ताप्लेजुङको स्वास्थ्य अवस्थामा सकारात्मक परिवर्तन ल्याउन निकै राम्रो काम गरेको हो’जिल्ला परियोजना सल्लाहकार समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले भन्नुभयो । उहाँले वन हर्टले ताप्लेजुङका स्वास्थ्य संस्थाको पूर्वाधार,अत्यावश्यक उपकरण र त्यहाँ कार्यरत स्वास्थ्य जनशक्तिको दक्षता विकासमा दिएको योगदान अविस्मरणीय रहने बताउनुभयो । जिल्ला समन्वय अधिकारी आत्मराम सत्यालले परियोजना निश्चित अवधि सम्म बसेर बिदा हुने प्रकृतिकै भएपनि स्वास्थ्य सुधारमा सकारात्मक नतिजा दिएको संस्थाले अरु केहि समय योगदान दियोस् भन्ने अभिलाषा आम नागरिकमा रहेको बताउनुभयो । फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले राम्रो काम गरिरहेको संस्थाको बिदाइ सन्तोषजनक नहुने भन्दै जिल्लाको स्वास्थ्य क्षेत्रमा वन हर्टबाट प्राप्त भएको योगदान स्मरणीय भइरहने बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले वन हर्ट ताप्लेजुङको स्वास्थ्य संस्थाहरुकै हर्ट अर्थात् मुटुको रुपमा रहेकोमा उसको बिदाइ भावमा व्यक्त गर्न नसकिने अवस्थाको रहेको बताउनुभयो । स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोखरेलले वन हर्टमार्फत ताप्लेजुङका स्वास्थ्य क्षेत्रमा पुगेको योगदान उल्लेखनीय रहेको बताउँदै कार्यकाल सकेर फर्किएको वन हर्टको बिदाइले स्वास्थ्य संस्थाहरुमा पुग्ने सहयोग कटौती भए झैं महशुष भइरहेको बताउनुभयो । शिक्षा विकास तथा समन्वय इकाइका ताप्लेजुङ प्रमुख योगेश्वर भट्टराईले शिक्षा र स्वास्थ्य एक अर्काका परिपुरक भएको बताउँदै ताप्लेजुङको स्वास्थ्य क्षेत्रमा सकारात्मक नतिजा दिइरहेको वन हर्टको बिदाइ जिल्लाबासीकै लागि राम्रो बिषय नभएको बताउनुभयो । वन हर्ट वल्ड वाइडको ताप्लेजुङस्थित कार्यालयका ट्रेनिङ फिल्ड सुपरभाइजर भूपेन्द्र सोनीका अनुसार अब वन हर्टले ताप्लेजुङमा इन लाइन सर्बे बाहेक हरु भौतिक रुपमा उपस्थित भएर गरिने कामबाट बिदाइ भएको छ । परियोजनाको यो अवधिमा वन हर्टले जिल्लाका बिभिन्न स्थानमा बर्थिङ सेन्टर स्थापना,बर्थिङ सेन्टरमा चाहिने अत्यावश्यक उपकरण,स्वास्थ्यकर्मीलाइ दक्षता तथा सीप विकासका कार्य र आम सञ्चारमाध्यम सहितको उपयोगिताद्धारा मातृ तथा नवजात शिशुको मृत्युदरमा कमी ल्याउने बिभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको थियो । यस्तै उसले कोरोना संक्रमण बिरुद्ध पनि बिभिन्न सहयोग अभियान सञ्चालन गरेको थियो । सोनीका अनुसार पछिल्लो समय ताप्लेजुङमा मातृ तथा नवजात शिशुको मृत्युदरमा समेत कमी आउन थालेको छ । यस्तै गर्भावस्थामा अनिवार्य चारपटक गर्भ जाँच गराउने र स्वास्थ्य संस्थामै प्रसुति गराउनेको संख्या पनि बढेको पाइएको उहाँले जानकारी दिनुभयो । यस्तै जिल्लाका बिभिन्न स्थानमा रहेका बर्थिङ सेन्टरमा स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीको सीप विकासमा टेवा पुुगेका कारण प्रसुतिका लागि बाहिरी जिल्ला जानेको संख्यामा पनि कमी आउन थालेको सोनीले बताउनुभयो । उहाँले प्रस्तुत गरेको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७५।०७६ मा प्रसुति गराउन जिल्ला बाहिर लगिएकाको संख्या ४ सय ८ थियो भने आव २०७६।०७७ मा ३ सय १३ र २०७७।०७८ मा ३ सय २३ रहेको छ । यस्तै आव २०७५।०७६ मा ७ जना रहेको मातृ मृत्युदर आव ०७६।०७७ मा ५ र ०७७।०७८ मा १ मा झरेको सोनीले जानकारी दिए । यस्तै आव २०७५।०७६ मा १४ रहेको नवजात शिशुको मृत्युदर आव २०७६।०७७ मा १५ र आव २०७७।०७८ मा झरेर ११ मा पुगेको तथ्याङ्क समेत उहाँले प्रस्तुत गर्नुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts