|

‘सीप सिकौं,रोजगार बनौं’ अभियान ः सिरिजंगाका स्थानीय आत्मनिर्भरताको बाटोमा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
(तेल्लोक)ताप्लेजुङ,कात्तिक २९ । जनताप्रति उत्तरदायी हुने गरी राजनीतिक र प्रशासकीय नेतृत्वको मन मिल्यो भने त्यसको लाभ समुदायले पाउने रहेछन् । ताप्लेजुङको सिरिजंगा गाउँपालिकाका स्थानीयमा बढ्दै गएको आत्मनिर्भरताको लाभ अहिले चर्चायोग्य मात्र,हैन अनुकरणीय समेत बन्दै गएको छ । समुदायका सदस्यलाइ सीप सिकाउने र त्यहिँ सीपको उपयोगमार्फत आत्मनिर्भर बनाउने गाउँपालिकाको योजनाले क्रमशःगति लिदैं गएको छ । स्थानीय उत्पादनलाइ प्राथमिकता दिनेगरी सुरु भएको ‘सीप सिकौं,रोजगार बनौं’भन्ने अभियानका कार्यक्रमले सिरिजंगा गाउँपालिकाका स्थानीयमा सिकेको सीपको उपयोग मात्र भएको छैन,हातमुख जोर्ने गतिलो माध्यम समेत बन्दै गएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे स्थानीय उत्पादनको उपयोगमार्फत रोजगारी सृजना र परनिर्भरताको अन्त्यका लागि चालिएका अभियान समुदायको आय बढाउने माध्यमको रुपमा विकास भइरहेको बताउँनुहुन्छ । सीप अनुसारको श्रम गर्ने गरी पालिकाले तयार पारेको नीतिले अहिले सीप र जाँगर भएकाहरुलाइ आर्थिक उर्पाजनको माध्यम दिएको छ । सीप पाएकाहरु धमाधम उद्यमी बन्न थाल्नु र उद्यमीहरुले तयार पारेका चीजबस्तुको बजार व्यवस्थापनमा पालिका आफैं अग्रसर हुनु उद्यम अभियानमा केन्द्रित भएकाहरुका लागि समेत गौरवको बिषय बनेको छ । सीप हासिल गरेपछि त्यसलाइ उद्यम सृजनामा लगाउन खटिनु भएकी बाहुनडाँडा टोल विकास संस्थाका सचिव तुलसा सुब्बाको अगुवाइमा अहिले पालिकाको केन्द्र तेल्लोकमा धमाधम ढाकाको कपडा तयार गर्ने काम भइरहेको छ । टोल विकास संस्थामा आबद्ध महिलाहरु ढाकाका कपडा तयार हुने तान तानिरहनु भएको देखिन्छ । तयार भएको ढाकाको बजार व्यवस्थापनका लागि पालिकाले नीति बनाएको छ । गाउँपालिकाका रोजगार संयोजक हिमाल तिमल्सिनाका अनुसार तयार भएको ढाकाको कपडाको बजार व्यवस्थापनमा बिकल्पहरु खोजिएका छन् ।‘तयार भएको यो ढाका कपडा अहिलेका लागि पालिकाभरीका बिद्यार्थीले प्रयोग गर्ने योजना छ’उहाँले भन्नुभयो । पालिकाका शिक्षा अधिकृत बुद्धिप्रसाद खतिवडाका अनुसार पालिकाभरीका कक्षा १ देखि ५ सम्मका बिद्यार्थीलाइ निःशुल्क रुपमा बिद्यालय पोशाक बितरण गर्नेगरी पालिकाले ऐन÷कार्यविधि बनाएको छ । उहाँका अनुसार पालिका भरीमा कक्षा १–५ सम्मका करिव १ हजार ६ सय बिद्यार्थी छन् । रोजगार संयोजक तिमल्सिनाले हाराहारी एक बिद्यार्थीका लागि एकमिटरका दरले खपत हुने गरी करिव १ हजार ६ सय मिटर ढाकाको कपडा तयार हुन लागेको बताउनुभयो । ढाकाको कपडा तयारीमा बिभिन्न टोल विकास संस्थाका १० जना महिला सहभागी हुनुहुन्छ ।

ढाका बुनाइ कार्यको अगुवाइ गरिरहनु भएकी सुब्बाका अनुसार खोयाहाङ टोल विकास संस्थाका निलम लिम्बू र अञ्जिता लिम्बू,पाथीभरा टोल विकास संस्थाका निर्मला बुढाथोकी र सम्झना बुढाथोकी,कुचिनटार टोल विकास संस्थाका रनु लिम्बू र तेल्लोकटार टोल विकास संस्थाका ज्ञानकुमारी लिम्बू,बुद्धमति लिम्बू,बसन्ती थेबे र सपना साउदेन संलग्न हुनुहुन्छ ।‘सामुहिक काम गर्छौं,श्रमको मूल्य बाँडेर लिन्छौं’बुद्धमतिले भन्नुभयो । प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार स्थानीय सीप र श्रमको सम्मान,समुदायका सदस्यलाइ रोजगारी सृजना र आफ्नै क्षेत्रमा उत्पादन भएका चीजबस्तुको प्रयोग गरेर परनिर्भरता हटाउने योजना अनुरुप यस्ता कार्यक्रमहरु अघि सारिएको छ ।‘स्थानीय क्षेत्रमै स्थानीय समुदायका सदस्यले तयार पारेको ढाकाका कपडा पालिका भरीका बिद्यालयमा प्रयोग भए पालिकाका बिद्यालयको पोशाक समेतमा एक रुपता आउने छ’उहाँले भन्नुभयो । रोजगार संयोजक तिमल्सिनाका अनुसार ढाका बुनाइको यो कार्यका लागि पालिकाले आर्थिक बर्ष २०७७।०७८ को बजेटमार्फत ५ लाख ८२ हजार ५ सय रुपंैंया लगानी गरेको छ । उद्यमीको रुपमा रहेकाहरुले लागत सहभागितामार्फत १ लाख ९७ हजार रुपंैंया व्यर्होनु भएको छ । उद्यमीहरुको यो लागत सहभागिता कूल लागतको करिव २५ प्रतिशत हो । पालिकाले ७५ प्रतिशत लागत साझेदारी गरेको छ । श्रमको मूल्य,लागत साझेदारीताको अनुपात र स्थानीय उत्पादनलाइ आधार मानेर उत्पादित ढाकाको कपडा पालिकाले व्यवस्थापन गर्न सहजीकरण गर्ने योजना बनाएको छ । सिकेको सीप खेर जान नदिन,सीपलाइ आयआर्जनको स्रोतमा बदल्न र स्थानीय उत्पादनलाइ प्राथमिकता दिन पालिकाले वडा नं ७ खेवाङमा जुत्ता चप्पल बनाउने कार्यक्रम समेत अघि सारेको तिमल्सिनाले बताउनुभयो ।‘त्यहाँको उत्पादनलाइ समेत बजारीकरण गर्ने योजना पालिकाले तयार पारेको छ’उहाँले भन्नुभयो । स्थानीय समुदायलाइ आत्मनिर्भर बनाइ गाउँ–गाउँमै रोजगारी सृजना हुने,स्थानीय उत्पादनलाइ महत्व र प्राथमिकता दिने र सिकेको सीप खेर जान नदिने प्रतिबद्धता सहित गाउँपालिकाले बजेट अधिबेशन तथा गाउँसभामार्फत ‘सीप सिकौं,रोजगार बनौं’भन्ने अभियानको घोषणा गरेको थियो । पालिकाका अध्यक्ष टीकाराम गुरुङ स्थानीय उत्पादनको अधिकतम् उपयोग र त्यहिँ योजनामार्फत उद्यम सृजनाका लागि पालिकाले नीतिगत व्यवस्था गरेको बताउनुहुन्छ ।‘पालिकाको यो नीतिले रोजगारी सृजनामा मात्र नसघाएर सीपलाइ श्रममा बदल्ने र आयस्रोतको बाटो देखाउने काम पनि गरिरहेको छ’उहाँले भन्नुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts