ताप्लेजुङमा प्रजिअ पाण्डेको तथ्याङ्क लिएर जनगणना सुरु,करिव १ हजार घरधुरी थपिएको प्रारम्भिक सर्वेक्षण

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २५ । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको गणना अभिलेख लिएर ताप्लेजुङमा राष्ट्रिय जनगणनाको कार्य शुभारम्भ गरिएको छ । राष्ट्रिय जनगणना कार्यालयको टोलीले प्रजिअ पाण्डको कार्यकक्षमै पुगी अभिलेख दर्ता गर्दै राष्ट्रिय जनगणनाको कार्य शुभारम्भ गरिएको जनाएको छ । राष्ट्रिय जनगणना कार्यालय ताप्लेजुङका गणना अधिकारी मानहादुर थापाका अनुसार गणनामा खटिने गणकले जनगणनाका लागि चाहिने प्रजिअ पाण्डेको सबै बिबरण लिएका छन् । सुपरीबेक्षकले सो गणना कार्यको सुपरीबेक्षण गर्नेछन् । थापाका अनुसार ताप्लेजुङमा २ सय २९ जना गणक र ६१ जना सुपरीबेक्षक तोकिएका छन् । गणकले प्रत्येकका घरधुरीमा पुगी जनगणनाका लागि आवश्यक पर्ने सूचना र बिबरण लिनेछन् । गणना र गणकको कार्यको सुपरीबेक्षकले सुपरीबेक्षण गर्नेछन् । संस्थागत निकायहरु जस्तैःनेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी र जलबिद्युत जस्ता क्षेत्रहरुमा भने त्यहिँ कार्यरत जनशक्तिलाइ गणकलाइ सहजीकरण गर्ने गरी दायित्व दिइएको जनगणना कार्यालययले जनाएको छ । राष्ट्रिय जनगणना कार्यालय ताप्लेजुङका गणना अधिकारी थापाका अनुसार यसअघि गणनाको क्रममा गरिएको घरधुरी सूचीकरणमा भने २०६८ को तुलनामा ताप्लेजुङमा करिव १ हजार घुरधुरी थपिएको पाइएको छ । त्यहिँ घरधुरी सूचीकरणलाइ आधार मानेर जनगणना कार्यालयले गणकहरु र सुपरीबेक्षक परिचालन गरेको थापाले जानकारी दिनुभयो । थापाका अनुसार अक्सर अर्थात् औसतमा सबैभन्दा बढी बसोबास हुने क्षेत्रलाइ आधार मानेर जनगणना गरिने छ । गणकहरुले सबैभन्दा बढी बसोबास जहाँ छ,त्यहिँ गणना हुने गरी घरधुरी सदस्यहरुलाइ जानकारी दिने प्रवन्ध गरिएको समेत उहाँले बताउनुभयो । बैदेशिक रोजगारीमा रहेकाहरुको बिबरण संकलनका लागि छुट्टै महल राखिएको उहाँले जानकारी दिनुभयो । सामान्यतया गणकले एक घरधुरीमा करिव ८० वटा लघु र त्यसभित्र रहेका उपप्रश्न सहित करिव डेढसय प्रश्न गर्नेछन् । यि प्रश्नको उत्तर पूरा भएपछि एकधुरीको गणना कार्य पूरा हुन्छ । प्रत्येक १०–१० बर्षमा हुने जनगणनाले नेपालका हरेक घरपरिवार र सदस्यहरुको व्यक्तिगत बिबरण समेत तयार हुने र सूचना गोप्य हुने भएकोले यर्थात बिबरण दिन समेत जनगणना कार्यालयले अनुरोध गरेको छ । यो बिबरण राष्ट्रिय महत्वको भएकोले कोहि नछुटुन् र कोहि नदोहोरिउन् भन्ने बिषयमा गणक र सुपरीबेक्षक सबैभन्दा बढी सम्बेदनशिल हुुनुपर्ने उहाँको भनाइ छ । घरधुरी सदस्यले पनि कोहि नछुटुन् र कोहि नदोहोरिउन् भन्ने बिषयमा हेक्का राखिदिए संकलन हुने तथ्याङ्क र भरपर्दो,पारदर्शी र बिश्वसनीय हुुने प्रजिअ पाण्डेले बताउनुभयो । २५ गते बिहीबारदेखि सुरु भएको जनगणनाको कार्य मंसिर ९ गते बिहीबारसम्म १५ दिन सञ्चालन हुने छ । यसअघि २०६८ को राष्ट्रिय जनगणनाअनुसार ताप्लेजुङको जनसंख्या १ लाख २७ हजार ४६१ रहेको थियो ।
फोटो ः प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको जनगणना बिबरण लिदैं गणक । तस्बिर ः खगेन्द्र ।