|

ताप्लेजुङ अस्पतालमा जडान भएको अक्सिजन प्लान्टको उद्घाटन,अक्सिजन अभाव टर्ने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २३ । ताप्लेजुङ अस्पतालमा जडान कार्य पूरा भएको अक्सिजन प्लान्टको मंगलवार उद्घाटन गरिएको छ । प्रतिनिधिसभाका सांसद तथा पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराईले अक्सिजन प्लान्टको उद्घाटन गर्नु भएको छ । ताप्लेजुङ जिल्लाको संघीय सांसदका हिसावले भट्टराईले अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि स्वास्थ्य मन्त्रालयमा अनुरोध पत्र पठाउनु भएको थियो । सोहि बमोजिम ताप्लेजुङ अस्पताल सहितमा अक्सिजन प्लान्ट जडान कार्य अघि बढाउन अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाइ अनुमति दिएको थियो । अक्सिजन प्लान्ट जडान संगै अब बिरामीका लागि चाहिने अक्सिजनको अभाव नखड्किने सांसद भट्टराईले बताउनुभयो । प्रविधि इन्टरनेस्नल सप्लार्यसमार्फत ७१ लाख ५० हजार रुपैंयाको लागतमा अक्सिजन प्लान्ट जडान कार्य पूरा भएको ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टार सोनिङ लामाले बताउनुभयो । यहिँ प्लान्टमार्फत २४ घण्टामा ६०–६५ किलोग्रामवाला २० थान अक्सिजन सिलिण्डर बराबर अक्सिजन उत्पादन गर्न सकिने प्रविधि इन्टरनेस्नल सप्लार्यसका प्राविधिक दिलबहादुर बिकले जानकारी दिनुभयो ।

कोरोनाका बिरामी अत्यधिक भएको समयमा समेत पर्याप्त मात्रामा अक्सिजन सिलिण्डर नभएपछि ताप्लेजुङ उद्योग बाणिज्य संघको अगुवाइमा यहाँका जनप्रतिनिधि र दाताहरुमार्फत भरिएको अक्सिजन सिलिण्डर आपूर्तिको पहल भएको थियो । बिभिन्न दाताहरुले अक्सिजन कन्सन्ट्रेटर समेत दिएका छन् । ताप्लेजुङ अस्पतालमा आइसियु जडानको कार्य समेत हुने छ । काठमाण्डौ चावहिल स्थित फाइन सर्जिकल नेपाल प्रालिले भ्याट सहित १ करोड ८ लाख ११ हजार ६ सय १४ रुपैंयामा पिरियडिक आइसियु जडानको जिम्मेवारी पाएको छ । कार्यक्रममा प्रदेशसभा सदस्य तथा प्रदेश १ सरकारका निवर्तमान सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ,संबिधानसभा सदस्य भूपेन्द्र थेबे,पूर्व सांसद तिलकुमार मेन्याङ्वो,प्रदेशसभा सदस्य होमकुमारी साँवा,प्रदेश १ सरकारका पूर्व आर्थिक मामिला मन्त्री टंक आङ्बुहाङ,अस्पताल विकास समितिका अध्यक्ष समेत रहनु भएका जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन,फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल लगायतको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts