| |

बिद्यालयमा आधारित मधमेह कार्यक्रम ः मान्छे स्वस्थ्य राख्न अपनाउनुपर्ने शैली र प्रकृया सिकाउने माध्यम

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १६ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं ५ थुकिमास्थित त्रिभुवन माविकी छात्रा अञ्जना लिम्बू ताजा सागसब्जी रोप्न र यसको उपयोग बढाउन घर परिवारमा सल्लाह दिन थाल्नु भएको छ । केहि समय अघि सम्म पनि उहाँका घरमा सागसब्जी रोप्ने खासै चलन थिएन । मौसम अनुसार यसो गावो गाडेका भरमा उम्रिएका सागसब्जी खानु बाहेक सागसब्जीकै लागि घु¥याउन प्रयोग हुँदैन थियो । अहिले उहाँको घरपरिवारको अवस्था र दैनिकी दुबै फेरिएको छ । अञ्जनाका घरमा करेसाबारी स्थापना भएको छ भने त्यहिँ करेसाबारीमा उत्पादन भएका मौसम अनुसारका सागसब्जी प्रयोगमा उहाँका घरपरिवार पनि रमाउँन थालेका छन् । सोहि बिद्यालयकी निशा लिम्बू बिद्यालयबाट फर्कने बित्तिकै घरायसी कामका घरको करेसाबारी तिर पस्नुहुन्छ । परिवारका सदस्यलाइ घाँसपात सहितका अन्य काममा समेत सहयोग गर्दै आइरहनु भएकी निसाकै सल्लाहमा उहाँका अभिभावकले करेसाबारी बनाउनु भएको छ । करेसाबारीमा पानी र मलको प्रयोग,झारपात गोडमेल सहितको कार्यमा निसाकी आमा अग्रसर हुनुहुन्छ । घरमा बस्तु,बाख्रा र कुखुुरा समेत छन् । उनीहरुको शौच(दिसा–पिसाब)लाइ निसाका परिवारले करेसाबारीमा मलको रुपमा प्रयोग गर्नुहुन्छ । यहिँ मलले करेसाबारीमा पलाएका सागसब्जीका टुसाहरु झांगिने रहेछन् । करेसाबारीमा फलेको साग,मुला,केराउ,बन्दाकोपी,फुलकोपी,जाँगर सहितका उत्पादनले निसाका परिवारको भान्छा उज्यालो बन्छ ।’तरकारी किनरहनु पनि परेन,आफ्नै बारीबाट थपक्कै टिपेर खान पनि पाइयो’निसाले भन्नुभयो । अञ्जना र निसाको परिवारमा देखिएको यो फरक शैलीको सिको उनीहरुले बिद्यालयबाट पाएका हुन् । बिद्यालयमा ह्युमन प्राक्टिस फाउण्डेसन(एचपीएफ)ले बिद्यालयमा आधारित मधुमेह कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रममार्फत बिद्यार्थीलाइ जनचेता प्रवाह गर्ने,अभ्यास शिक्षणको रुपमा मधुमेह लाग्न नदिन अपनाउनुपर्ने खानपान र जीवनशैलीका बारेमा जानकारी प्रेषित गर्ने,बिद्यालयमै पाक कक्षा सञ्चालन गर्ने कार्य भइरहेको छ । एचपीएफ अन्र्तगत बिद्यालयमा आधारित मधुमेह कार्यक्रम संयोजक शिबलाल थापा बिद्यार्थीले आफुले पाएको सीप,ज्ञान र मेहनेत घरपरिवार सम्म प्रवाह हुन थालेकोमा सन्तुष्ट हुनुहुन्छ ।‘कार्यक्रमको उद्देश्य भनेकै बिद्यार्थीमार्फत मधुमेह र नसर्ने रोग सम्वन्धी जानकारी अभिभावक हुँदै समुदायका सदस्य सम्म प्रेषित होस् भन्ने नै हो’थापाले भन्नुभयो‘यो कार्यले क्रमशःगति लिदैं गएको छ’ । थापाका अनुसार बिद्यालयमा आधारित मधुमेह कार्यक्रममार्फत मधुमेह तथा नसर्ने रोग,नियन्त्रणका बिधि र प्रकृया तथा यि रोग लाग्न नदिनका लागि अपनाउनुपर्ने सावधानीका बारे जानकारी गराइन्छ । यस्ता रोगबाट बच्ने उपाय भनेकै खानपान र जीवनशैलीमा सुधार रहेको बताउँदै उहाँले यस्तो सन्देश प्रवाहका लागि कार्यक्रम सञ्चालन भएका बिद्यार्थीको योगदान प्रशंसनिय रहेको बताउनुभयो ।

मधुमेह अर्थात् चिनी रोग के हो र यो कसरी लाग्छ भन्ने बारेमा थाह समेत नपाएका बिद्यार्थीलाइ बिद्यालयमै यि रोग लाग्न नदिनका लागि खानपानका प्रयोग हुने परिकारको उत्पादन र साप्ताहिक पाक कक्षामार्फत नुन प्रयोग देखि उत्पादित सामाग्रीमार्फत खाजा बनाउने तरिका सम्म सिकाइने भएकोले बिद्यार्थीलाइ यो कार्यक्रम निकै प्रभावकारी भएको छ ।‘बिद्यालयबाट सिकेको सीप र पाएको ज्ञान घर–घर सम्म पुगेको छ’कार्यक्रमप्रति प्रसन्नता व्यक्त गर्दै बिद्यालयका प्रधानाध्यापक गोपाल तुम्साले भन्नुभयो । स्थानीय अभिभावक मंगलसिंह केदेमले मधुमेह रोग रोकथाम तथा नियन्त्रणको सिकाइ अभ्यासका लागि त्रिभुवन माविमा सुरु भएको प्रयोग बिद्यार्थीका अभिभावकहरुमा समेत हुन थालेको बताउनुभयो ।‘हेर्दा सानो जस्तो कार्यक्रम भएपनि मान्छे स्वस्थ्य राख्न अपनाउनुपर्ने शैली र प्रकृया सिकाउने माध्यम रहेछ’बिद्यालयमा आधारित मधुमेह कार्यक्रमको सह्राना गर्दै उहाँले भन्नुभयो । ‘करेसाबारीको अभियान सुरु गर्दा अर्गानिक उत्पादन समेत उपभोग गर्न पाइने भएकोले यो ‘कार्यक्रम एक तर उद्देश्य अनेक रहेको पाएँ’उहाँले भन्नुभयो । अरु क्षेत्रमा समेत यस्ता कार्यक्रम बिस्तार गर्न सके ताप्लेजुङ जिल्लालाइ मधुमेह रोग नियन्त्रणको कार्यमा उदाहरणीय बनाउन सकिने उहाँको बिश्वास छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts