| |

राजेन्द्र राई बन्ने भए प्रदेश १ को मुख्यमन्त्री

अरुलाई पनि शेयर गरौ !

विराटनगर, कात्तिक १४ । प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन् । आइतबार विपक्षी गठबन्धनले राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।
नेपाली काँग्रेसले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने माग गरेपछि यसअघि कात्तिक ७ गतेका लागि तय भएको हालका मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतमाथिको मतदान नै स्थगित भएको थियो । सोमबार आचार्यको विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुने कार्यसूची छ ।
विश्वासको मतमाथि मतदान हुने अघिल्लो दिन आइतबार बसेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको बैठकले मुख्यमन्त्रीमा राईलाई अघि सार्ने निर्णय गरेको हो । नेपाली काँग्रेस संसदीय दलका सचेतक केदार कार्कीले आलोपालोको दावी नेपाली काँग्रेसको आन्तरिक विषय भएको भन्दै आचार्यले विश्वासको मत गुमाएपछि बन्ने नयाँ सरकारको नेतृत्व राईले गर्ने बताए ।
गठबन्धनले केन्द्रीय तहबाटै प्रदेश १ मा समाजवादीको नेतृत्वमो सरकार बनाउने सहमति पहिले नै गरिसकेको थियो । सत्तारुढ गठबन्धनमा काँग्रेसले गरेको आधाआधा नेतृत्वको दावीलाई गठबन्धनको केन्द्रमा जानकारी गराउने सहमति भएको छ ।
यता प्रदेशसभामा सत्तारुढ नेकपा एमालेको बहुमत नरहेकाले मुख्यमन्त्री आचार्यले सोमबार विश्वासको मत नपाउने निश्चित छ । गठबन्धनमा मन्त्रालय भागबण्डा र काङ्ग्रेसले दाबी गर्दै आएको आधा कार्यकालका विषयमा मुख्यमन्त्री नियुक्तिपछि छलफल गर्ने निर्णय पनि गरेको बताइएको छ ।
हाल प्रदेशसभामा ९२ सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेसँग ४१ सांसद छन् । सभामुख र एक जना सांसद फरार सूचीमा रहेकाले मुख्यमन्त्री आचार्यको पक्षमा ३९ मत मात्र प्राप्त हुने अवस्था छ । प्रदेशसभामा बहुमतका लगि ४७ सांसदको समर्थन आवश्यक पर्छ । विपक्षी गठबन्धनसँग ५० जना सांसद छन् ।
गठबन्धनमा काङ्ग्रेसँग २१, माओवादी केन्द्रसँग १५, एकीकृत समाजवादीसँग १०, जसपासँग ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सांसद छन् । एक जना सांसद रहेको राप्रपा दुवै पक्षमा खुलेको छैन ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts