| |

ताप्लेजुङ एमालेको वडा नेतृत्वमा महिला शुन्य

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक ९ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ताप्लेजुङका वडाहरुमा महिला नेतृत्व शुन्य भएको छ । वडा अधिवेशनमार्फत जिल्लाका ६१ वटै वडामा समिति चयन भएको र नयाँ वडा समितिमा महिलाको नेतृत्व शुन्य देखिएको हो ।
जिल्लाको एक नगरपलिकासहित नौ स्थानीय तहका सबै ६१ वटै वडामा वडा अधिवेशन शनिबार शुरु भई सोमबार सम्पन्न भएका थिए । वडा अधिवेशनमार्फत सबै वडामा नयाँ वडा समिति चयन भएको तर, कुनैपनि वडामा महिला नेतृत्व नआएको नेकपा (एमाले) जिल्ला कार्यालय सचिव राजेश प्याकुरेलले बताउनुभयो ।
कार्यालय सविच प्याकुरेलका अनुसार पार्टीको विधानबमोजिम नेतृत्वसहित पाँचजना पदाधिकारी रहेको ३१ सदस्यीय वडा समिति अधिवेशनले चयन गरेको छ । समिति समावेशी हुनुपर्ने प्रावधानअनुसार नै वडा अधिवेशनमार्फत गठन भएको वडा समितिमा महिला, दलित समावेश भए पनि नेतृत्वमा भने महिला कोही पनि नआएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सबै वडामा वडा समिति भने सर्वसम्मत चयन भएका छन् ।
यस्तै एमालेको केन्द्रीय तालिकाअनुसार मंगलबार पालिका स्तरको अधिवेशनहरु शुरु भएको छ । ताप्लेजुङका सदरमुकामस्थित फुङ्लिङ नगरपालिकासमेत नौवटा स्थानीय तहमध्ये सात वटा तहमा पालिकास्तरको अधिवेशन शुरु भएको छ । एमालेका अनुसार मिक्वाखोला र सिदिङ्वा गाउँपालिकामा मंगलबार अधिवेशन शुरु हुन सकेको छैन । यता पालिकाहरुको नेतृत्वमा पनि महिला आउने सम्भावना न्यून रहेको एमाले स्रोतले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts