| | |

सुकेटारमा तीन उडान कटौती हुँदा यात्रु मारमा

अरुलाई पनि शेयर गरौ !

राजकुमार गुरुङ
ताप्लेजुङ, कात्तिक ९ ।
नेपाल वायु सेवा निगमले काठमाडौं–ताप्लेजुङको उडान कटौती गर्दा यात्रु मारमा परेका छन् । जिल्लाको सुकेटार विमानस्थलमा प्रत्येक साताको चार दिन नियमित हुने गरेकोमा निगमले तीन उडान कटौती गरेपछि यात्रु मारमा परेका हुन् ।
ताप्लेजुङस्थित नेपाल वायुसेवा निगमका स्टेसन इन्चार्ज लोकन्द्र लिम्बूका अनुसार निगमले तीन उडान कटौती गरेको छ । अब साताको एकदिन बुधबार मात्र उडान गर्नेगरी निगमको केन्द्रीय कार्यालयबाट निर्देशन आएको स्टेसन इन्चार्ज लिम्बूले बताउनुभयो । यसअघि साताको सोमबार, बुधबार, शुक्रबार र शनिबार गरी चार दिन उडान हुँदै आएको थियो ।
यता निगमले उडान कटौती गरेसँगै आइतबार र सोमबारको उडान नभएपछि टिकट गरेका करिव ७० जना यात्रु अलपत्र परेका छन् । जिल्लास्थित स्टेसन इन्चार्ज लिम्बूले भन्नुभयो, “पहिलेको उडान सेड्युल (तालिका)अनुसार यात्रुलाई टिकट बिक्री गरियो, केन्द्रले उडान कटौती गरेसँगै जहाज नआएपछि यात्रु अलपत्र परेका हुन् ।” कतिपय जरुरी यात्रा गर्नुपर्ने यात्रुले टिकट फिर्ता गरेका र केहीले आउँदो उडान पर्खने भएको पनि उहाँले जानकारी दिनुभयो ।
यता यात्रुको चाप भइरहने जिल्लाको उडान कटौती गर्नाले धेरै यात्रु हवाई सुविधाबाट बञ्चित भएका छन् । ताप्लेजुङ पूर्वको पर्यटकीय जिल्ला भएकाले पनि यहाँ अधिक यात्रु हुने गरेका छन् । काठमाडौं–ताप्लेजुङ मात्र नभई ताप्लेजुङ–विराटनगरमासमेत उडान सञ्चालन गर्नुपर्ने माग भइरहेका बेला उडान कटौती गर्नु यात्रुलाई हवाई सेवाबाट बञ्चित गर्ने कार्य भएको जिल्लावासीले बताएका छन् ।
निगमको भाडा दर भने काठमाडौं–ताप्लेजुङलाई प्रतिव्यक्ति सात हजार ३७० रुपियाँ रहेको छ । सुकेटारमा नेपाल एयरलाइन्सबाहेक सीता एयरलाइन्सले हप्तामा दुई दिन काठमाडौं–ताप्लेजुङ र कुनैबेला ताप्लेजुङ–भद्रपुर उडान गर्ने गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts