दशैँको अवधिमा २० हजार भक्तजनले गरे पाथीभराको दर्शन
–उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक ८ । यसवर्ष दशैँको समयमा बीस हजार बढी भक्तजनले ताप्लेजुङस्थित ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन् । दशैँको नवरात्रदेखि कोजाग्रत पूर्णिमाको अवधिभित्र उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार दशैँको समयमा देशविदेशबाट पाथीभराको दर्शन गर्न भक्तजन आएका छन् । कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायम रहेपनि नेपाल बाहिर भारतको सिक्किम, दार्जिलिङ लगायतका ठाउँबाट भक्तजन आएर पाथीभराको दर्शन गरेका काफ्लेले जानकारी दिनुभयो ।
प्रहरीचौकी फेदीमार्फत राखिएको तथ्याङ्कअनुसार दशैँको नवरात्रिदेखि कोजाग्रत पूर्णिमासम्म १५ दिनमित्र २० हजार बढी भक्तजनले पाथीभराको दर्शन गरेका उहाँले जानकारी दिनुभयो । यस अवधिमा ताप्लेजुङसहित पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, काठमाडौं लगायत देशका विभिन्न जिल्लाबाट पाथीभराको दर्शन गर्न भक्तजन आएका छन् । दशैँपछि अहिले पनि पाथीभरामा भक्तजन आउने क्रम जारी रहेको समितिले जनाएको छ ।
पाथीभरा दर्शनका लागि दशैँ तिहारको समयलाई मुख्य मौसम मानिन्छ । यही मौसममा देशविदेशबाट उल्लेख्य रुपमा भक्तजन पाथीभराको दर्शन गर्न आउने गर्दछन् । गतवर्षको दशैँ तिहारमा भने कोभिड–१९ का कारण पाथीभरा दर्शन बन्द गरिएको थियो । गत वर्षको तुलनामा यो वर्ष सङ्क्रमणको अवस्था सामान्य बनेकाले मुख्य मौसमलाई लक्षित गरी गत असोज १ गतेदेखि पाथीभरा दर्शन खुल्ला गरिएको थियो ।