| |

तावाखोलामा मोटरेवल पुल बन्ने

उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक १ ।
ताप्लेजुङको दुईवटा स्थानीय तह सिरिजङ्घा र सिदिङ्वा गाउँपालिका जोड्नेगरी तावाखोलामा मोटरेवल पुल बन्ने भएको छ । सिरिजङ्घा गाउँपालिका–७ खेबाङ र सिदिङ्वा गाउँपलिका–७ सुरुम्खिमको सिमाना भई बग्ने स्थानीय तावाखोलामा मोटरेवल पुल बन्ने भएको हो ।
दुई÷तीन वर्ष अघि नै सडकको ट्रयाक (मार्ग) खुले पनि तावाखोलामा मोटरेवल पुल नहुँदा नियमित सडक सञ्चालनमा आउन सकेको छैन । हिउँद मौसममा यातायातका साधन चलेपनि वर्षात्मा नचल्ने अवस्थालाई दृष्टिगत गरी मोटरेवल पुल निर्माण गर्न लागिएको सिरिजङ्घा गाउँपालिकाले जनाएको छ । तावाखोलामा बन्न लागेको उक्त मोटरेवल पुलको भर्खरै सिरिजङ्घा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले शिलान्यास गर्नुभएको छ ।
सिरिजङ्घा गाउँपालिका र सङ्घीय सरकारबाट प्राप्त समपुरक अनुदानको बजेट लगानी गरेर मोटरेवल पुल निर्माण गर्न लागिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार तीन करोड ८९ लाख ६० हजार ७२ रुपियाँ बजेटमा पुल निर्माणको जिम्मा अञ्जना÷हिमतारा जेभी कम्पनी इटहरीले पाएको छ । आगामी २०८० साल भदौ ४ गतेभित्र पुल निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको पनि घिमिरेले जानकारी दिनुभयो ।
यता तावाखोलामा मोटरेवल पुल बनेपछि सिरिजङ्घा गाउँपालिकाको दुर्गम गाउँ वडा नं. ८ याम्फुदिनको काबेलीखोला वारि सम्मका बासिन्दाले राहत पाउने छन् । सदरमुकाम फुङ्लिङ र छिमेकी जिल्ला पाँचथर हुँदै लामो दूरीमा सञ्चालन हुने यातायातको पहुँच पनि जोडिने छ । त्यस्तै तावाखोलामा बन्ने मोटरेवल पुलका कारण हिउँद बर्खा नै यातायात सञ्चालन हुनेमा स्थानीयवासी ढुक्कसमेत बनेका छन् ।

Similar Posts