| | |

सान्थाक्रामा गाउँपालिकाको लगानीमा प्रहरीचौकी भवन

अरुलाई पनि शेयर गरौ !

-अनिता इवारम
ताप्लेजुङ, असोज २१ ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका केन्द्र (मुकाम) सान्थाक्रामा गाउँपालिकाकै लगानीमा प्रहरीचौकी भवन निर्माण गरिएको छ । मेरिङ्देन गाउँपालिकाको कुल १७ लाख रुपियाँ रकम लगानीबाट प्रहरीचौकी भवन निर्माण गरिएको हो ।
पालिका केन्द्र रहेको मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राको सुर्माटारमा प्रहरीचौकी भवन निर्माण गरिएको छ । स्थानीय उपभोक्ता समितिमार्फत निर्माण गरिएको प्रहरीचौकी कार्यालय भवन निर्माण सम्पन्न भएसँगै बिहीबार उद्घाटन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष गणेशबहादुर चोङ्बाङ लिम्बू, उपाध्यक्ष कल्पना तुम्बाहाम्फे लगायतको उपस्थितिमा नव निर्मित भवनको उद्घाटन गरिएसँगै बिहीबारदेखि नै सोही भवनबाट प्रहरीचौकी कार्यालय सञ्चालनमा आएको छ । प्रहरीचौकी कार्यालय सञ्चालनका लागि आवश्यक हिरासतसहित कोठाहरु रहेको भवन, स्नान तथा शौचालयसमेत निर्माण गरी दिएको प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेले बताउनुभयो ।
साविक थिङ्लाबु, सान्थाक्रा, खाम्लुङ, लिङ्तेप, थुकिमा र नाल्बु गाविस समेटिएको मेरिङ्देन गाउँपालिका केन्द्र सान्थाक्रालाई तोकिएपछि २०७५ साल फागुनमा स्थापना भएको प्रहरीचौकी हालसम्म घर भाडामा बसेर सञ्चालन हुँदै आएको थियो । प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेका अनुसार प्रहरीचौकीको घरभाडा पनि मासिक सात हजार रुपियाँका दरले गाउँपालिकाले नै तिर्दै आएको थियो ।
त्यस्तै घर भाडासँगै सुरुमा प्रहरीचौकी कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने फर्निचर, लत्ताकपडासहितका सबै सामग्री व्यवस्थापनमा समेत गाउँपालिकाले सहयोग गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सान्थाक्रामा स्थापित प्रहरीचौकीमा प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्व रहने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts