प्रक्षेपण गरिएको तथ्याङका आधारमा ताप्लेजुङमा करिव ४२ प्रतिशतले लगाए कोरोना बिरुद्धको पूर्ण खोप
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १८ । प्रक्षेपण गरिएको तथ्याङका आधारमा ताप्लेजुङमा करिव ४२ प्रतिशतले कोरोना बिरुद्धको पूर्ण खोप लगाएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत टंक सिटौलाका अनुसार ताप्लेजुङमा ३५ हजार २ सय १ जनाले कोरोना बिरुद्धको पूर्ण खोप लगाएका छन् । पूर्ण खोप भन्नाले भेरोसिलको र कोभिडशिल्ड÷ एक्सट्राजेनेका खोपको दुबै डोज तथा एकडोज लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप लगाएकाको संख्या जनाउँछ । स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार केन्द्रले २०६८ सालको जनगणनालाइ आधार मानेर ताप्लेजुङभर १८ बर्ष उमेर समूहका ५८ हजार ४ सय नागरिक हुने प्रक्षेपण तथ्याङ्क पठाएको थियो । जागिर वा पेशाको सिलसिलामा रहेका सहित पछिल्लो १० बर्षमा थप करिव २७ हजार नागरिक १८ बर्ष पूरा भएको हुने अवस्थामा पुगेको अनुमानित तथ्याङ सहित स्वास्थ्य कार्यालय ताप्लेजुङले भने करिव ८५ हजार जना १८ बर्ष पूरा भएका नागरिक भएको प्रक्षेपण गरेको छ । यहिँ तथ्याङ्कलाइ आधार मान्ने हो भने यहाँका करिव ४२ प्रतिशतले कोरोना बिरुद्धको दुबै खोप लगाएका छन् । यस्तै पहिलो डोज मात्र लगाएकाहरुको संख्या ८ हजार ९ सय ९१ रहेको छ । यो मध्ये ५ हजार ७ सय १५ जनाले भेरोसिलको पहिलो डोज र ३ हजार २ सय ६६ जनाले कोभिडशिल्ड÷ एक्सट्राजेनेका खोपको पहिलो मात्रा लगाएका छन् । पहिलो डोज लगाएकाहरुले कोरोना बिरुद्धको दोस्रो डोज पनि लिएमा ताप्लेजुङमा कोरोना बिरुद्धको पूर्ण खोप लिनेको संख्या प्रक्षेपणका आधारमा करिव ५२ प्रतिशत हुने छ । कोरोना बिरुद्धको खोप जति पनि उपलब्ध भएको अवस्थामा समेत खोप लगाउन आउनेको संख्या अपेक्षाकृत बृद्धि नभएको अवस्थामा प्रक्षेपण गरिएको(अनुमानित गरिएको) संख्या नै तलमाथि होकी जस्तो अवस्था पनि देखिएको छ ।