| |

सुस्तश्रवण बालबालिकालाई लत्ताकपडा वितरण

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असोज ९ ।
ताप्लेजुङ सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–४ को बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत सुस्तश्रवण (फरक क्षमता भएका) बालबालिकालाई लत्ताकपडा वितरण गरिएको छ । स्वर्गीय रणबहादुर लिङ्खिम स्मृति प्रतिष्ठान ताप्लेजुङले ट्रेकसुट, जुत्ता मोजा लगायतका लत्ताकपडा वितरण गरेको हो ।
उक्त विद्यालयमा अध्ययनरत २७ जना फरक क्षमता भएका बालबालिकालाई लत्ताकपडा वितरण गरिएको प्रतिस्ठानका सदस्य दिनेश लिङ्खिमले जानकारी दिनुभयो । प्रतिस्ठान सदस्य लिङ्खिमका अनुसार करिव ७५ हजार रुपियाँ मूल्य बराबरको लत्ताकपडा वितरण गरिएको छ ।
फुङ्लिङस्थित नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको सभाहलमा शनिबार आयोजित कार्यक्रमकाबीच प्रतिविद्यार्थी एक–एक सेट ट्रेकसुट र जुत्ता–मोजा वितरण गरेको लिङ्खिमले जानकारी दिनुभयो । कार्यक्रममा उपस्थित रहेका स्वयम् विद्यार्थीलाई र अनुपस्थित विद्यार्थीका लागि सम्बन्धित विद्यालयकी प्रधानाध्यापक सारदा काफ्ले र सुस्तश्रवण बालबालिकालाई अध्यापन गराउँदै आउनुभएका शिक्षक हाङ्माया लिम्बूलाई हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।

सुस्तश्रवण बालबालिकाका लागि लत्ताकपडा हस्तान्तरण गर्दै प्रतिष्ठानका सदस्य दिनेश लिङ्खिम ।

भूतपूर्व बृटिस आर्मी स्वर्गीय रणबहादुर लिङ्खिमको स्मृतिमा स्थापित प्रतिष्ठानले हरेक वर्ष यस्तै असहाय, निमुखा तथा विपद्जन्य अवस्थाबाट गुज्रेका पक्षलाई सहयोग गर्नुका साथै अन्य सामाजिक क्षेत्रमा काम गर्दै आएको प्रतिष्ठानका सदस्य लिङ्खिमले जानकारी दिनुभयो । यसरी नै आगामी दिनमा थप रचनात्मक क्रियाकलाप गर्दै जाने प्रतिष्ठानको योजना रहेको पनि उहाँले सुनाउनुभयो ।
यता दिनदिनै चिसो मौसम सुरु हुँदै गइरहेका बेला सुस्तश्रवण बालबालिकाका लागि लत्ताकपडा उपलब्ध गराएकोमा विद्यालयकी प्रधानाध्यापक काफ्लेले प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभयो । पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष गौतमले पनि गतवर्ष सञ्चार क्षेत्र, स्वास्थ्य र सुरक्षा क्षेत्रमा कार्यरतहरुका लागि मास्क, स्यानिटाइजरजस्ता स्वास्थ्य सुरक्षा सामग्री प्रतिष्ठानले उपलब्ध गराएको स्मरण गर्दै सामाजिक सेवाको क्षेत्रमा प्रतिष्ठानले गर्दै आएको कार्यको प्रसंसा गर्नुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts