ताप्लेजुङका यातायात व्यवसायीले अब यात्रुको भ्रमण प्रस्थान र गन्तब्यको बिबरण प्रहरीलाइ दिनुपर्ने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ८ । ताप्लेजुङका यातायात व्यवसायीहरुका संस्थाहरुले अब यात्रुको भ्रमण प्रस्थान बिन्दु र गन्तब्यको जानकारी सहितको बिबरण नजिकको प्रहरी कार्यालयका उपलब्ध गराउनुपर्ने भएको छ । शुक्रवार प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको अध्यक्षतामा बसेको बैठकले यातायात व्यवसायीहरुले निर्धारित भाडादर,यात्रुको भ्रमण प्रस्थान बिन्दु र गन्तब्यको जानकारी सहितको बिबरण तयार पारी सोको जानकारी नजिकको प्रहरी कार्यालयमा पठाउनु पर्ने निर्णय लिएको हो । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले कम्तिमा छैट पर्व अघि सम्म अहिले कायम रहेको भाडादरमा बृद्धि नगर्न र साविककै प्रचलित दरलाई कार्यान्वयन गर्न यातायात व्यवसायी समक्ष प्रस्ताव गर्नु भएको छ ।‘यसो गर्न सकेमा यातायात व्यवसायीले यात्रुलाइ पर्वका बेला छुट दिएको अनुभूत पनि हुन्छ’प्रजिअ पाण्डेले भन्नुभयो । उहाँले प्रचलित भाडादर भन्दा बढी लिएमा प्रशासन‘एक्सन’मा उत्रने चेतावनी समेत दिनु भएको छ । बैठकले सिट क्षमता भन्दा बढी यात्रु नराख्ने,कोरोना महामारी नियन्त्रण तथा थप बढ्न नदिने उपाय स्वरुप जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्ने समेत निर्णय लिएको छ । पाथीभरा देवीको दर्शन गर्न आउने तिर्थयात्रीको दर्शन यात्रालाइ सहज बनाउन यातायात व्यवसायीहरुसंगको समन्वय र सहकार्यमा सहयाता कक्ष स्थापना गर्ने समेत बैठकले निर्णय लिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख बाल नरसिंह राणाका अनुसार तोक्मेडाँडा क्षेत्रमा र बीरेन्द्र चौकमा भिडभाड नियन्त्रण तथा जनस्वास्थ्यका मापदण्डको पालना गर्ने÷गराउने कार्यमा सहजीकरण गर्न उल्लेखित २ स्थानमा सहयाता कक्ष स्थापना गर्ने योजना बनाइएको छ । चाडपर्वहरु नजिक आउन थालेकोले उपभोग्य बस्तुको अभाव हुन नदिइ बिक्री बितरणलाइ सहज बनाउन व्यवसायीहरुले अनिवार्य रुपमा दैनिक मूल्य सूची राख्नुपर्ने समेत निर्णय गरेको छ । साथै उपभोग्य र चाडबाडका बेला बढी प्रयोगमा आउने लत्ताकपडा सहितका मालबस्तुमा यथाशक्य छुट दिइ उपभोक्ताको हित अनुकूल हुने गरी कार्य गर्न समेत बैठकले ताप्लेजुङ उद्योग बाणिज्य संघमार्फत सम्पूर्ण उद्योगी व्यवसायीलाइ आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले निर्णय कार्यान्वयन भए÷नभएको अनुगमन हुने र नभएको पाइए प्रचलित कानुन अनुसार कारवाही हुने समेत बताउनुभयो ।