दोभानका एक अग्नि पीडितले बीमाबापत पाए करिव ५९ लाख रुपैंया
ताप्लेजुङ,असोज ७ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं ३ खाम्लुङको दोभान बजारका एक अग्नि पीडित परिवारले लक्ष्मी बैंकमार्फत ५८ लाख बढी रकम बीमा बापत प्राप्त गरेका छन् । दोभान बजारका अग्नि पीडित बिनिता किराना पसलका प्रोपाइटर लोकेन्द्रबहादुर अधिकारीले बीमा बापत ५८ लाख ९० हजार ५ सय ४० रुपैंया प्राप्त गर्नु भएको छ । लक्ष्मी बैंकबाट कर्जा कारोवार भएको २ महिना नबित्दै आगोले सबै सामान जलेर नष्ट भएपछि लक्ष्मी बैंकले बीमा रकम प्रदान गरेको लक्ष्मी बैंकको फुङ्लिङ शाखाका प्रवन्धक युवराज कोइरालाले जानकारी दिनुभयो ।
अधिकारीलाइ बीमा बापतको चेक लक्ष्मी बैंकका प्रदीप दाहाल र दुर्गाप्रसाद पोखरेलले बितरण गर्नु भएको थियो । अधिकारीको ९१ लाख ५० हजार बराबरको बीमा भएको थियो । लक्ष्मी बैंकका अनुसार कर्जा लिनु भएका अधिकारीले आफ्नो मौज्दात सामग्रीको इन्स्योरेन्स गर्नु भएको थियो । २०७७ फागुन १८ गते भएको आगलागिमा परी अधिकारी सहितका ५० घर जलेर नष्ट भएका थिए ।