चाँगे समाज हङकङद्वारा अग्निपीडितलाई राहत वितरण
–प्रयास लिम्बू
ताप्लेजुङ, असोज १ । ताप्लेजुङको दोभान बजारका अग्नि पीडितलाई चाँगे समाज हङकङले राहत वितरण गरेको छ । चाँगे समाज हङकङको पहलमा सङ्कलन भएको करिव आठ लाख रुपियाँ पीडित परिवारलाई वितरण गरिएको हो ।
साढे छ महिना अघि अर्थात गत फागुन १८ गते खाम्लुङको दोभान बजारमा भएको आगलागीबाट पीडित भएका परिवारलाई राहत रकम वितरण गरिएको हो । चाँगे समाज हङकङका नेपाल प्रतिनिधि राजकुमार लिम्बूका अनुसार अग्निपीडित ६२ परिवारलाई सात लाख ८५ हजार ६८० रुपियाँ राहत रकम वितरण गरिएको छ । परिवार सङ्ख्याका आधारमा पीडित परिवारलाई राहत रकम वितरण गरिएको लिम्बूले जानकारी दिनुभयो ।
चाँगे समाज हङकङले सङ्कलन गरेर पठाएको राहत रकम अग्निपीडितलाई पहिले नै वितरण गर्ने तयारी गरेको भए पनि कोरोना महामारीका कारण ढिलो भएको लिम्बूले बताउनुभयो । हाल कोरोना सङ्क्रमणको अवस्था सामान्य बनेपछि आगलागी स्थल दोभान बजार रहेको स्थानीय तह मेरिङ्देन गाउँपालिकासँग समन्वय गरेर राहत रकम वितरण गरिएको पनि उहाँले बताउनुभयो । मेरिङ्देन गाउँपालिकाका अध्यक्ष गणेशबहादुर चोङ्बाङ सहितका जनप्रतिनिधि लगायतको उपस्थितिमा बुधबार राहत वितरण गरिएको थियो ।
जिल्लाकै दोस्रो ठूलो ब्यापारिक केन्द्रको रुपमा रहेको दोभान बजारमा भएको आगलागीले ५१ घर जलेर पूर्णरुपमा नष्ट भएको थियो । आगलागीबाट ४० करोड रुपियाँ बढीको क्षति हुन पुगेको थियो ६२ परिवार विस्थापित भएका थिए ।