साक्षर हुने क्रममा रहेका १५ देखि ६० बर्ष उमेर समूहका व्यक्तिको परीक्षा लिन पाथीभरा याङ्वरकले तोक्यो मिति

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले १० असोजबाट १५ देखि ६० बर्ष उमेर समूहका साक्षर हुने क्रममा रहेका व्यक्तिको परीक्षा सञ्चालन गर्न पालिकाभरीका सामुदायिक बिद्यालयहरुलाइ निर्देशन दिएको छ । पालिकाका सामुदायिक बिद्यालयहरुको सेवा क्षेत्रमा रहेका १५–६० बर्ष भित्रका निरक्षरहरुको परीक्षा लिन गाउँपालिकाको शिक्षा शाखाले पालिकाभरीका सामुदायिक बिद्यालयहरुलाइ परिपत्र गरेको हो । शिक्षा अधिकृत लासाङ तामाङका अनुसार कोभिड–१९ संक्रमणका कारण यसअघि रोकिएको यो परीक्षा अहिले सञ्चालन गर्न लागिएको हो ।
उहाँका अनुसार परीक्षा सञ्चालनका लागि सम्वन्धित बिद्यालयमा परीक्षा केन्द्र र सो बिद्यालयका प्रधानाध्यापकलाइ परीक्षाको केन्द्राध्यक्ष तोकिएको छ । केन्द्राध्यक्षले बिद्यालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षको रोहवरमा प्रश्नपत्र खोली परीक्षा सञ्चालन गरी उत्तरपुस्तिक परीक्षण गरी÷गराइ नतिजासिट सहितको उत्तरपुस्तिका पालिकाको शिक्षा शाखामा बुझाउनुपर्ने गाउँपालिकाले स्पष्ट पारेको छ । सरकारले अहिले प्रत्येक स्थानीय तहलाइ साक्षर पालिका घोषणा गर्ने अभियान थालेको छ । १५–६० बर्ष उमेर समूहका कम्तिमा ९५ प्रतिशत व्यक्ति साक्षर भएको खण्डमा पालिकालाइ साक्षर पालिका घोषणा गर्न सकिने गरी स्थानीय तहले अभियान चलाइ रहेका छन् । त्यसका लागि पालिकाहरुले यो समूहका मानिसहरुको तथ्याङ्क संकलन गर्ने,साक्षर बनाउने र साक्षर भएको प्रमाण स्वरुप उनीहरुको परीक्षा लिने कार्य गर्नेछन् । यदि १५–६० बर्ष उमेर समूहका कम्तिमा ९५ प्रतिशत व्यक्ति साक्षर भएमा त्यो पालिकालाइ साक्षर पालिका घोषणा गर्ने र साक्षर हुन छुटेका ५ प्रतिशतलाइ समेत बिभिन्न कार्यक्रममार्फत साक्षर अभियानमा समाबेश गर्ने गरी कार्यक्रहरु सञ्चालन हुने गर्छन् । आठराइ त्रिबेणी गाउँपालिकाले यहिँ सूचकका आधारमा पालिकालाइ साक्षर घोषणा गरी साक्षर हुन बाँकीलाइ निश्चित अवधिमा साक्षर बनाउने योजना समेत सार्वजनिक गरिसकेको छ ।