भाडादरमा कालोबजारी हुन नदिन ताप्लेजुङका यातायात व्यवसायीले जनाए प्रतिबद्धता
ताप्लेजुङ,असोज १ । भाडादरमा कालोबजारी हुन नदिन ताप्लेजुङका यातायात व्यवसायीले प्रतिबद्धता जनाएका छन् । उनीहरुले सिट क्षमताको आधारमा सहज रुपले टिकटको प्रवन्ध गरी यातायात सञ्चालन गर्ने समेत प्रण गरेका छन् । जिल्ला यातायात व्यवस्थापन समितिका पदाधिकारी र यातायात व्यवसायीहरुको संयुक्त बैठक बढ्दो भिडभाडका क्रममा समेत यात्रुहरुलाइ सहज र सुलभ रुपमा सेवा प्रवाह गर्ने निश्कर्षमा पुगेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो । प्रजिअ पाण्डेका अनुसार यातायात व्यवसायीले सार्वजनिक यातायातको निर्धारित भाडादर पूर्ण रुपमा कार्यान्वयन गर्र्नेछन् । नजिकिदैं गरेको चाडपर्व समेतलाइ ध्यानमा दिएर यात्रुहरुले सुलभ र सहज रुपमा यात्रा तय गर्ने वातावरण सृजना गर्ने उद्देश्य अनुरुप सरोकारवालाको बृहत्त छलफल आयोजना भएको पाण्डेले बताउनुभयो । कोरोना संक्रमणको जोखिम पूर्ण रुपमा अन्त्य भइ नसकेकोले यातायात व्यवसायीले आफु स्वास्थ्य सुुरक्षाका मापदण्डको पूर्ण पालना गर्ने र यात्रु समेतलाइ मास्क र स्यानीटाइजरको प्रयोग सहितका मापदण्डको पालना गर्न लगाउने निर्णय समेत बैठकले गरेको छ । यस्तै भाडादरमा कालोबजारी हुन नदिन सम्पूर्ण यातायात व्यवसायीहरु जिम्मेवार र जवाफदेहि हुने र भाडादरका बारेमा यात्रुलाइ सु–सूचित गराउने समेत निर्णय भएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।