ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या साढे ३ प्रतिशतमा झर्यो

ताप्लेजुङ,भदौ ३१। ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या साढे ३ प्रतिशतमा झरेको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार प्रकाशित गरेको बिबरण अनुसार अहिले ताप्लेजुङमा ८७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । दोस्रो भेरिएन्ट सुरु भएयता कूल २ हजार ४ सय ९५ जनामा संक्रमण देखिएकोमा २ हजार ३ सय ९२ जना निको भइसकेको जानकारी जिल्ला प्रशासन कार्यालयले दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता १० हजार ५२ जनाको परीक्षण गर्दा संक्रमित भेटिएका मध्ये करिव साढे ९६ प्रतिशत हाराहारी निको भइसकेका छन् । यो अवधिमा १६ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको समेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर, बिभिन्न अभिलेखमा भने कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता कोरोनाकै कारण २२ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालयले जिल्ला भित्रै मृत्यु भएकाको संख्या मात्र अभिलेखमा अद्यावधिक गर्ने गरेको जिल्ला प्रशासन कार्यालयको कोरोना फोकल पर्सन बिजय गोठाले गौतमले जानकारी दिनुभयो ।