ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या एकसय भन्दा तल
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २९। ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या एकसय भन्दा तल झरेको छ । सक्रिय कोरोना संक्रमितको संख्या २ सय भन्दा कम भएपछि निशेधाज्ञा हटाएको जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य प्रयोग र सावधानीका उपायको आत्मसाथले सक्रिय कोरोना संक्रमितको संख्या सयभन्दा तल पुगेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार मंगलवार अपरान्ह सम्म ताप्लेजुङमा ९३ जना मात्र सक्रिय कोरोना संक्रमितको रहेका छन् । सोमवार सम्म संक्रमण बिहिन रहेका ३ मध्ये मेरिङ्देन गाउँपालिका बाहेक आठराइ त्रिबेणी र मैवाखोलामा फेरी संक्रमित थपिएका छन् । फक्ताङ्लुङमा १ जना संक्रमित निको भएसंगै सो पालिका पनि संक्रमणबिहिन भएको छ । आठराइ त्रिबेणीमा २ र मैवाखोलामा १ जना संक्रमित थपिएका हुन् । पाथीभरा याङ्वरक गाउँपालिकामा सक्रिय कोरोना संक्रमितको संख्या ह्वात्तै घटेर ३१ जनामा झरेको छ । ३७ जना संक्रमणमुक्त भएका छन् । जिल्ला अस्पतालमा परीक्षण गराएका सहित फुङ्लिङमा ४९ जना सक्रिय संक्रमित रहेका छन् । सिरिजंगा गाउँपालिकामा ४ र सिदिङ्वामा ३ जना सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पूर्ण खोप लगाउनको संख्या दिनहुँ बढ्दै,झण्डै ३५ हजारले लगाए पूर्ण खोप
ताप्लेजुङमा कोरोना बिरुद्धको पूर्ण खोप लगाउनको संख्यामा दिनहुँ बृद्धि हुँदै गएको छ । यसअघि कोभिडशिल्डको पहिलो मात्रा लगाएकालाइ एक्सट्राजेनेका र भोरोसिल लगाएकालाइ सोहि खोपको दोस्रो मात्रा दिने अभियान चलाएपछि कोरोना बिरुद्धको पूर्ण खोप लगाउनेको संख्या बढेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार पूर्ण खोप लगाउनको संख्या ३४ हजार ८ सय १५ पुगेको छ । कोभिडशिल्ड र सोहि खोप लगाएकालाइ दोस्रो मात्रा लगाउन मिल्ने एक्सट्राजेनेका गरी १४ हजार १ सय ८२ जनाले कोरोना बिरुद्धको दुबै खोप लगाएका छन् । १४ हजार ८ सय १८ जनाले भेरोसिलको दुबैमात्रा लगाएका छन् भने ५ हजार ८ सय १५ जनाले एक डोज(मात्रा) मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप लगाएका छन् । अब ३ हजार २ सय ५७ जनाले कोभिडशिल्ड वा एक्सट्राजेनेका र ६ सय २ जनाले भेरोसिलको दोस्रो मात्रा लगाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।