ताप्लेजुङमा साढे २९ हजारले लगाए कोरोना बिरुद्धको पूर्ण खोप,६ हजार बढीले दोस्रो मात्रा लिन बाँकी
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २५ । शुक्रवार सम्मको तथ्याङ्क अनुसार ताप्लेजुङमा २९ हजार ४ सय ३ जनाले कोरोना बिरुद्धको पूर्ण खोप लगाएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार भेरोसिल,जोन्सन एण्ड जोन्सन,कोभिडशिल्ड र एक्सट्राजेनेका खोप गरी यो संख्याकाले लगाएका हुन् । ६ हजार १ सय ४३ जनाले पहिलो डोज मात्र लगाएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार सबैभन्दा बढी १३ हजार ७ सय ४६ जनाले भेरोसिल खोपको दुबै(डोज)मात्रा लगाएका छन् । ५ हजार ७ सय ५० जनाले एकडोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् । २ हजार १ सय ५९ जनाले कोभिडशिल्ड खोपको दोस्रो मात्रा पनि लगाएका छन् । कोभिडशिल्डको पहिलो डोज लगाएकाहरुलाइ लगाउन मिल्ने एक्सट्राजेनेका खोप कोभिडशिल्डकै दोस्रो मात्राको रुपमा ७ हजार ९ सय २८ जनाले लगाएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार अझै पनि कोभिडशिल्डको पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउनबाट छुटेकाकाको संख्या सबैभन्दा बढी रहेको छ ।
तथ्याङ्क अनुसार कोभिडशिल्डको पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा स्वरुप एक्सट्राजेनेका खोप नलगाएकाको संख्या ४ हजार १ सय ४ जना रहेको छ । भेरोसिलको दोस्रो डोल लगाउन बाँकी रहेकाको संख्या १ हजार ६६ रहेको छ । ५ सय ७३ जनाले एक्सट्राजेनेकाको पहिलो खोप लगाएका छन् । तर दोस्रो डोज लगाएका छैनन् । स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायका अनुसार अहिले यहाँ २ हजार ९ सय ९० जनालाइ पुग्नेगरी एक्सट्राजेनेका र १ हजार ८८ जनालाइ पुग्नेगरी भेरोसिल खोप मौज्दात रहेको छ । मौज्दात रहेको यो खोप भदौ २७ र २८ गते दुईदिन फक्ताङ्लुङ र फुङलिङ नगरपालिका क्षेत्रमा बसोबास गर्नेहरुलाइ लक्षित गरी लगाइदैं छ । जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले यसअघि पहिलो मात्रा लगाएका सबैका लागि पुग्नेगरी खोपको दोस्रो मात्रा आएकोले सम्वन्धित खोपकेन्द्रमार्फत दोस्रो मात्रा लगाउन आग्रह गर्नु भएको छ । पाण्डेले खोपको पहिलो मात्रा लगाएकाहरुलाइ दोस्रो मात्रा लगाइसकेपछि बचत भएको खोप फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिका क्षेत्रमा प्रयोग गर्ने गरी निर्णय भइसकेको जानकारी दिनुभयो । पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुट भएका दोस्रो मात्रा लिन योग्य भएकाहरुलाइ प्राथमिकताका साथ दोस्रो मात्रा उपलब्ध गराउने जिल्ला खोप समन्वय समितिले निर्णय गरिसकेको छ । दोस्रो मात्रा समेत लगाएर बचत भएको खोप फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिका क्षेत्रमा १८ बर्ष पूरा भएका बिद्यार्थी,बैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र अन्यलाइ क्रमैसंग प्राथमिकता क्रमका आधारमा लगाइने तयारी रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख राजकुमार पोखरेलले जानकारी दिनुभयो ।
५ प्रतिशत मात्र सक्रिय संक्रमित
ताप्लेजुङमा शुक्रवार अपरान्ह सम्ममा सक्रिय कोरोना संक्रमित करिव ५.१३ प्रतिशतमा झरेको छ । अहिले १ सय २७ जना मात्र सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोरोनाको दोस्रो भेरिएन्ट सुरुभएयता २ हजार ४ सय ७३ जनामा संक्रमण देखिएकोमा २ हजार ३ सय ३० जना संक्रमणमुक्त भएका छन् । सबैभन्दा बढी संक्रमित पाथीभरा याङ्वरकमा रहेका छन् । त्यहाँ ६४ जना सक्रिय संक्रमित रहेको प्रशासन कार्यालयले जनाएको छ । आठराइ त्रिबेणी,मैवाखोला र मेरिङ्देन गाउँपालिकामा सक्रिय संक्रमित छैनन् । जिल्ला अस्पतालमा परीक्षण गराएका ४५ सहित फुङ्लिङ नगरपालिकामा ५१ जना सक्रिय संक्रमित रहेका छन् । मिक्वाखोला गाउँपालिकामा ३ जना,फक्ताङ्लुङ र सिरिजंगा गाउँपालिकामा १–१ जना र सिदिङ्वा गाउँपालिकामा ७ जना सक्रिय संक्रमित रहेको प्रशासन कार्यालयले जनाएको छ ।