आठराई त्रिबेणी उपाध्यक्ष सहित थप ७ जनप्रतिनिधिले रोजे नेकपा एस,सनाखत गर्नेको संख्या २१ पुग्यो
ताप्लेजुङ,भदौ २२ । ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु पौडेल भट्टराई सहित मंगलवार थप ७ जनाले माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी) रोजेका छन् । यो सहित अहिले सम्म नेकपा एसका पक्षमा यहाँका २१ जना जनप्रतिनिधिले सनाखत गरेका छन् । मंगलवार आठराइ त्रिबेणी गापा उपाध्यक्ष सहित फुङलिङ नगरपालिकाका प्रवक्ता समेत रहनु भएका वडा नं २ का वडाध्यक्ष मोहन न्यौपाने,मैवाखोला गाउँपालिका वडा नं २ का वडाध्यक्ष सुरेन्द्र लिम्बू,फुङ्लिङ नगर कार्यपालिका सदस्य नेताकुमारी परियार सिवाले नेकपा एसका पक्षमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । यस्तै फुङ्लिङ नगरपालिका वडा नं २ का वडासदस्य धनबहादुर लिम्बू,आठराइ त्रिबेणी गाउँपालिका वडा नं ३ का वडासदस्य गंगाप्रसाद यक्सो र मैवाखोला गाउँपालिका वडा नं २ का वडा सदस्य दानुपु शेर्पाले समेत नेकपा एसका पक्षमा सनाखत गर्नु भएको छ । आइतवार जिल्ला समन्वय समिति उपप्रमुख देवीमाया नेपाली सहित ९ र सोमवार मेरिङ्देन गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फे सहित ५ जनाले सनाखत गर्नु भएको थियो । यो समाचार तयार पार्दा सम्म ताप्लेजुङबाट जिसस उपप्रमुख,२ गाउँपालिका उपाध्यक्ष,१ जिसस सदस्य,५ वडाध्यक्ष र कार्यपालिका सदस्य तथा नगर र गाउँसभा सदस्य १२ गरी २१ जनाले नेकपा एस रोजेका छन् ।