ताप्लेजुङमा करिव ९३ प्रतिशत कोरोना संक्रमणमुक्त,३ वटा पालिकामा सक्रिय संक्रमित शुन्य

ताप्लेजुङ,भदौ १५ । कोरोना संक्रमित भएका मध्ये ताप्लेजुङमा करिव ९३ प्रतिशत संक्रमणमुक्त भएका छन् । मंगलवार अपरान्ह सम्म सक्रिय कोरोना संक्रमितको संख्या १ सय ६७ मा झरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार अहिले सक्रिय संक्रमितको तुलनामा हाराहारी ७ प्रतिशत मात्र सक्रिय संक्रमित रहेका छन् । कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता २ हजार ४ सय १८ जनामा कोरोना संक्रमण देखिएकोमा २ हजार २ सय ३५ जना संक्रमणमुक्त भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासन कार्यालयका अनुसार मैवाखोला,मेरिङ्देन र फक्ताङ्लुङ संक्रमण बिहिन पालिका भएका छन् । जिल्ला अस्पतालले परीक्षण गरेकामध्ये ६८ र फुङलिङ नगरपालिका आफैंले परीक्षण गरेकामध्ये ६ गरी फुनपा भित्र ७४ जना सक्रिय कोरोना संक्रमित रहेको प्रशासन कार्यालयको बिबरणमा उल्लेख भएको छ । आठराइ त्रिबेणी गाउँपालिकामा ४ जना,मिक्वाखोला गाउँपालिकामा ३ जना,पाथीभरा याङ्वरक गाउँपालिकामा ६० जना,सिदिङ्वा गाउँपालिकामा १४ जना र सिरिजंगा गाउँपालिकामा १२ जना सक्रिय संक्रमित रहेको प्रशासन कार्यालयले जनाएको छ । सक्रिय संक्रमितमध्ये १ सय ५९ जना होम आइसोलेसनमा र ४ जना ताप्लेजुङ जिल्ला अस्पतालले सञ्चालन गरेको कोभिड अस्पतालमा सामान्य रुपले उपचार गराइ रहेको समेत प्रशासन कार्यालयले भनेको छ । ४ जनलाइ थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको प्रशासन कार्यालयले जनाएको छ । कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता यहाँका १६ जना नागरिकले कोरोनाकै कारण ज्यान गुमाएको बिबरण समेत प्रशासन कार्यालयले उपलब्ध गराएको छ । तर,प्रशासनले जिल्ला भित्रै मृत्यु भएकाहरुको बिबरण मात्र राख्ने गरेको छ । उपचारका लागि जिल्ला बाहिर समेत गएर मृत्यु भएकाको संख्या जोड्दा यहाँका २२ जना नागरिकले कोरोनाकै कारण ज्यान गुमाइ सकेको बिभिन्न अभिलेखबाट देखिन्छ ।