| | |

प्रदेश १ को मुख्यमन्त्रीमा आचार्य नियुक्त, माधव समूहका ८ सांसदको साथ

अरुलाई पनि शेयर गरौ !

विराटनगर, भदौ १० । प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । नेकपा एमाले विभाजनले औपचारिकता पाएसँगै बिहीबार प्रदेश १ को मुख्यमन्त्रीमा आचार्य नियुक्त भएका हुन् । नवनियुक्त मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पद तथा गोपनियताको शपथ गराएका छन् ।
यता मुख्यमन्त्री बनेका आचार्यलाई माधबकुमार नेपालको पक्षमा खुलेका ८ जना सांसदले साथ दिएका छन् । यसअघि नेपाल समूहमा आचार्यसहित १८ जना सांसद रहेकामा आचार्यलाई दलको नेता बनाउन बिहीबार बसेको संसदीय दलको बैठकमा नेपाल समूहका ८ सांसद सहभागी भएका हुन् ।
मुख्यमन्त्री शेरधन राईले दलको नेताबाट राजिनामा दिएपछि दलको बैठकले आचार्यलाई दलको नेता चयन गरेको थियो भने लगत्तै मुख्यमन्त्री राईले राजिनामा दिएका थिए । राइको राजिनामापछि आचार्य मुख्यमन्त्रीमा नियुक्त भई सपथ लिइका हुन् ।
आचार्यलाई दलको नेता चयन गर्न बसेको बैठकमा भौतिक रुपमा २४ जना प्रदेश सांसदको उपस्थिति थियो । प्रदेशसभामा ५१ सदस्य रहेपनि दलको नेता परिवर्तन गर्ने निर्णय पुस्तिकामा केहि सदस्यले भने प्रदेश प्रमुखको कार्यालयमै पुगेर हस्ताक्षर गरी बहुमत जुटाएको बताइएको छ ।
आचार्य मुख्यमन्त्री बन्दै गर्दा यसअघि प्रधानमन्त्री केपी ओलीले प्रतिगमन गरेको भन्दै पुस ५ पछि सामाजिक विकासमन्त्रीबाट राजिनामा दिएर आन्दोलनमा होमिएका जीवन घिमिरेले पनि साथ दिएका छन् । अब घिमिरे अचार्य नेतृत्वको सरकारमा पनि मन्त्री बन्ने स्रोतले जनाएको छ ।
त्यस्तै यसअघि नेपाल समूहमा रहेका मोरङका सांसदहरु लिलाबल्लभ अधिकारी, यशोदा अधिकारी, सुनसरीकी साबित्री जोशी, तेह्रथुमका लक्षुमन तिवारी, ताप्लेजुङका बलबहादुर साम्सोहाङ र होमकुमारी साँवा पनि एमालेमा फर्किएका छन् । उनीहरु संसदीय दलको बैठकमा सहभागी भएका छन् । मोरङका लिलाबल्लभ अधिकारी र तेह्रथुमका लक्षुमन तिवारी नयाँ सरकारमा मन्त्री बन्ने बताइएको छ ।
नेपाल समूहमा रहेका सांसदहरुमध्ये भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, पाँचथरका गणेश काम्बाङ र मोरङकी कृष्णकुमारी राई नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य बनिसकेका छन् । मोरङकै उपेन्द्र घिमिरे र सावित्रा रेग्मी, उदयपुरकी सुनिता चौधरी, इलामकी खिनु लङ्वा लिम्बू, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ पनि एकीकृत समाजवादीमा रहने दावी सो पार्टीको रहेको छ भने उनीहरु बिहीबारको एमाले बैठकमा सहभागी भएनन् ।
यता प्रदेशसभामा एमालेका ५ सांसद मात्र नयाँ पार्टीमा प्रदेश गरेको अवस्थामा आचार्य नेतृत्वको सरकारले बहुमत गुमाउने अवस्था छ । प्रदेशसभाको संसदीय दल विभाजन भएपछि एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ । ९३ सदस्यीय प्रदेशसभामा हाल कायम रहेको ९२ जनामध्ये बहुमतको लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । त्यसैले नेकपा एकीकृत समाजवादीमा ५ जना सांसद मात्र रहेर विपक्षी गठबन्धनतिर आचार्यको सरकार ढल्ने र विपक्षी गठबन्धनको सरकार बन्ने अवस्था छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts