|

पाथीभरा क्षेत्रमा लिफ्टिङ प्रविधिको खानेपानी आयोजना अघि बढ्ने,बिबाद समाधान गर्न भयो ५ बुदें सहमति

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ९ । जग्गा सम्वन्धी बिबाद समाधान भएपछि ताप्लेजुङको पाथीभरा क्षेत्रमा लिफ्टिङ प्रविधिको खानेपानी आयोजनामा अघि बढ्ने भएको छ । खानेपानी आयोजनाको निर्माण कम्पनी प्रेरा–बिष्णु जेभी इलाम र पाथीभरादेवी दर्शन केबलकार प्रालिबीच मुहान नजिक बनेको ट्याङकी निर्माणको बिषयमा जग्गामा विवाद थियो । खानेपानी आयोजनाको निर्माण कम्पनी र पाथीभरादेवी दर्शन केबलकार प्रालि बिबाद समाधान गर्दै आयोजना अघि बढाउन सहमत भएका छन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलाम,पाथीभरा ताप्लेजुङ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति,निर्माण व्यवसायी प्रेरा–बिष्णु जेभी इलाम र पाथीभरादेवी दर्शन केबलकार प्रालिका प्रतिनिधिबीच बिबाद समाधानका लागि ५ बुदें सहमति बनेको छ । सहमति अनुसार जग्गा बिबादका कारण निर्माण भइ सकेको ५० घनमिटरको आरसीसी ट्याङ्की र पम्प हाउस पुनःनिर्माणका लागि पाथीभरादेवी दर्शन केबलकार प्रालिले जग्गा उपलब्ध गराउने भएको छ । उक्त संरचना बनाउन प्राविधिक बिशिष्टतामा फरक नपर्ने गरी नक्सा र बीओक्यूमा उल्लेख भए बमोजिमको परिमाणमा आरसीसी ट्याङ्कीको १.६० मिटर सम्मको उचाइ पाथीभरादेवी दर्शन केबलकार प्रालिकातर्फबाट कात्तिक १५, २०७८ सम्ममा निर्माण गरिदिने सहमति पनि बनेको छ । सहमति अनुसार ट्याङ्कीको १.६० मिटर भन्दा माथिको बाँकी संरचना र पम्प हाउसको निर्माण निर्माण व्यवसायीले गर्ने भएका छन् । उक्त कार्य सम्पादन भइसकेपछि बिबादित जग्गामा निर्माण भएको ५० घनमिटरको आरसीसी ट्याङ्की र पम्प हाउस पाथीभरादेवी दर्शन केबलकार प्रालिले व्यवस्थापन गर्ने भएको छ । ट्याङ्कीको १.६० मिटर सम्मको उचाइको संरचना बनाउन पाथीभरादेवी दर्शन केबलकार प्रालिलाइ आवश्यक पर्ने प्राविधिक सहयोग संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामले उपलब्ध गराउने भएको छ । सहमति पत्रमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामकातर्फबाट आयोजना प्रमुख सुरतलाल चौधरी र इञ्जिनियर रुपक पराजुली,उपभोक्ता समितिकातर्फबाट अध्यक्ष गोपाल न्यौपाने र कोषाध्यक्ष तेजबहादुर खत्री भट्टराई,निर्माण व्यवसायीका प्रतिनिधि नन्दकुमार ओझा, पाथीभरादेवी दर्शन केबलकार प्रालिकातर्फबाट प्रतिनिधि मणिशंकर पोमू तथा साक्षीको रुपमा पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति सदस्य सुरेश लिम्बूले हस्ताक्षर गर्नुु भएको छ ।

फुङ्लिङ नगरपालिका–११ फावाखोलास्थित डढेली खोल्सीनजिक निर्माण भएको ट्याङ्की र पम्प हाउस निर्माणको बिषयमा निर्माण कम्पनी प्रेरा–बिष्णु जेभी इलाम र पाथीभरादेवी दर्शन केबलकार प्रालिबीच जग्गा बिबाद थियो । खानेपानी आयोजना निर्माण गर्ने पक्षले आफ्नो स्वामित्वमा रहेको जग्गा अनाधिकृत रुपले प्रयोग गरेको पाथीभरादेवी दर्शन केबलकार प्रालिको दाबी थियो । असोज १८,२०७७ मा ठेक्का सम्झौता गरेर काम सुरु भएको यो आयोजनामार्फत पाथीभरा देवी मन्दिर क्षेत्रमा लिफ्टिङ प्रविधिद्धारा खानेपानी पु¥याउन सुरु भए सुरु भएको आयोजना हो । पाथीभरा ताप्लेजुङ सहलगानी खोनपानी आयोजनाको सम्झौता रकम ५ करोड ४६ लाख ६४ हजार ३ सय ५५ रुपैँया रहेको छ । आउँदो १४ चैत सम्ममा आयोजना सम्पन्न गर्नुपर्ने समयसीमा छ । कुल लागतको ७० प्रतिशत नेपाल सरकार र ३० प्रतिशत पाथीभरा ताप्लेजुङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले बेहोर्ने २०७७ असार १० गते दुवै पक्षबीच भएको सम्झौता पत्रमा उल्लेख छ । आयोजनाको २० प्रतिशत श्रमदान रकम १ करोड ६४ लाख ४ सय ३२ रुपैँया रहेको छ । यसैगरी उपभोक्ता समितिले आयोजनाको १२.६१ प्रतिशत अर्थात् १ करोड ३ लाख ६७ हजार ४ सय ८३ रुपैँया उपभोक्ता संस्था र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको खातामा दाखिल गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ । आयोजनाको कुल लागत स्टिमेट ८ करोड २२ लाख १६ हजार ३ सय ६० रुपँैया रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts