एमाले पार्टीका औपचारिक कार्यक्रममा राष्ट्रिय झण्डा र राष्ट्रिय धुन अनिवार्य,बिधान शंसोधन प्रस्तावमा राय माग

ताप्लेजुङ,भदौ ५ । नेकपा एमालेले पार्टीका औपचारिक कार्यक्रममा राष्ट्रिय झण्डा र राष्ट्रिय धुनलाइ अनिवार्य गरेको छ । एमाले ताप्लेजुङले शनिवार बिधान शंसोधनका बारेमा राय सुझाव संकलन गर्न आयोजना गरेको कार्यक्रममा पनि पार्टी निर्देशन अनुसार नै कार्यक्रम गरेको जनाएको छ ।‘केन्द्रीय निर्देशन अनुसार हामीले पार्टीका औपचारिक कार्यक्रममा राष्ट्रिय झण्डा र राष्ट्रिय धुनलाइ अनिवार्य गरेका हौं’एमाले जिल्ला सचिव दीपेन पोमूले भन्नुुभयो । नेकपा एमालेको २०७८ साउन २५ को केन्द्रीय कमिटी बैठकले पारित गरेको बिधान शंसोधन सम्वन्धी प्रस्तावमा तल्ला तहका कमिटीको राय लिन छलफल कार्यक्रम गरिएको एमालेका केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्वोले बताउनुभयो । बिधानको प्रस्तावना,परिभाषा,बिधान महाधिशेन र राष्ट्रिय महाधिबेशन सम्वन्धी व्यवस्था,केन्द्रीय कमिटी महाधिबेशन प्रतिनिधि परिषद्,केन्द्रीय अनुशासन,लेखा परीक्षण र निर्वाचन आयोग सम्वन्धी व्यवस्था सहितका बिषयमा अगुवा कार्यकर्ताहरुको सुझाव संकलन गरिएको एमाले केन्द्रीय सदस्य पासाङ शेर्पाले जानकारी दिनुभयो । यस्तै प्रस्तावित बिधानमा उल्लेखित सल्लाहकार परिषद् र जेष्ठ कम्युनिष्ट मञ्च सम्वन्धीको व्यवस्था,सामुदायिक कम्युनिष्ट मञ्च हटाउने व्यवस्था,प्रदेश कमिटी,स्थानीय कमिटी,संगठन कमिटी र संक्रमणकालिन पार्टी संगठन,संघीय संसद,प्रदेशसभा र स्थानीय तहका निर्वाचित प्रतिनिधिलाइ पार्टी कमिटी अनुरुप परिचालन गर्न बिधान अद्यावधिक व्यवस्था,कार्यकारी व्यक्ति एउटै पदमा बढीमा २ कार्यकाल सम्म मात्र रहने पाउने,अध्यक्ष र सदस्य महाधिबेशन वा अधिबेशनबाट निर्वाचित हुने सम्वन्धी व्यवस्थाका सहितका बारेमा एमालेले तल्ला कमिटी र अगुवा कार्यकर्ताको राय संकलन गरेको हो । कार्यक्रममा पूर्व राज्यमन्त्री ओङ्दी शेर्पा,सभाषद् डम्बरध्वोज तुम्बाहाम्फे,जिल्ला समन्वय सिमिति प्रमुख घनेन्द्र मादेन,फुङलिङ नगरप्रमुख सहितका स्थानीय तहका पदाधिकारीहरु,एमाले प्रदेश कमिटीका सदस्यहरु,प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन समन्वय कमिटीका पदाधिकारीहरुको सहभागिता रहेको एमाले ताप्लेजुङका जिल्ला अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिनुभयो । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी भित्र आन्तरिक कलह सृजनासंगै ताप्लेजुङमा नेकपाका २ वटा कमिटी भए । तत्काल कायम रहेको कमिटीलाइ छाड्दै नेकपा संस्थापन पक्षले थेबेलाइ अध्यक्ष र पोमूलाइ सचिवको जिम्मेवारी दिएको थियो । एमाले र माओवादी केन्द्र अलग–अलग हुने सर्बोच्चको फैसला पछि पनि यहाँ एमालेका २ वटा जिल्ला कमिटी र २ वटा पार्टी कार्यालय कायम छन् । तत्कालिन एमालेको जिल्ला अधिबेशनबाट भने अध्यक्षमा बलबहादुर साम्सोहाङ र सचिवमा केशरकुमार मेन्याङ्वो सहितका पदाधिकारी निर्वाचित हुनु भएको थियो ।