|

अनुगमनमा कडाइ गर्दै बजार अनुगमन समिति,अखाद्य बस्तु भेटिए सिधै जफत

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ १ । ताप्लेजुङमा बजार अनुगमनका क्रममा अब पहिले भन्दमा कडाइ गरिने भएको छ । बजार अनुगमन समितिले अनुगमनका क्रममा उपभोक्ता हित बिपरितका कुनै कार्य भएको भेटिए कानुनी कारवाहीका लागि मार्ग प्रसस्त गर्ने निश्कर्ष निकालेको हो । साविकका बर्षहरुमा चाडपर्व नजिकका समयमा मात्र बजार अनुगमन हुने गरेकोमा यसबर्ष यो परम्परा तोड्दै नियमित अनुगमनलाइ प्राथमिकता दिन थालिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले अब कार्यसूची बनाएर नियमित तर छड्के रुपले बजार अनुगमन गरिने जानकारी दिनुभयो । अब बजार अनुगमन टोलीले अखाद्य बस्तु फेला परेमा सिधै जफत गरी नष्ट गर्ने छ । यतिञ्जेल सम्म बिक्रेतालाइ उपभोक्ता हितको पक्षमा लाग्न सचेत बनाउने र प्रेरित गर्ने कार्य पूरा भएको बताउँदै सहायक प्रजिअ अधिकारीले अब बजार अनुगमन टोली उपभोक्ताका पक्षमा कठोरपूर्वक उभिने निर्णयमा पुगेको बताउनुभयो । अब मूल्य सूची नराखेका,नियमक निकायमा दर्ता र नविकरण नगरेका व्यवसायीहरु निगारानीमा हुने छन् । केहिदिन अघि गरिएको बजार अनुगमनमा ३ वटा पसलबाट म्याद नाघेका सहितका अखाद्यबस्तु समेत भेटिएको र त्यस्ता सामाग्री भने जफत गरी नष्ट गरिएको सहायक प्रजिअ जानकारी दिनुभयो । क्लष्टर बनाएर अनुगमनलाई तीव्रता दिईएको र अनुगमनको क्रममा दिईएका सुझाव पालना नभए अब कानूनी प्रकृया अवलम्वन गरिने उहाँले बताउनुभयो । संयुक्त अनुगमन टोलीले खाद्य तथा किराना,मदिरा तथा पेय पर्दाथ,औषधि,मासु र अन्य सेवा प्रदायक निकायको सेवालाई बर्गिकरण गरेर अनुगमनलाई नियमित र अनिवार्य बनाउने भएको छ । बजार अनुगमनका क्रममा ठूलो व्यवसायिक लापरवाही र कानूनी बैधता बिपरितका कार्य भएको पाईएमा तत्कालै कानूनी कारवाही समेत बढाउने गरी अनुगमनको कार्ययोजना तयार भएको बजार अनुगमन समितिले जनाएको छ ।
‘सामान ल्याउदै मिति सकिएका’
म्याद नाघेका पेय पर्दाथ बजार अनुगमनका क्रममा टोलीले फेला पार्ने सबैभन्दा धेरै परिणामको चिज हो । अनुगमन टोलीका अनुसार याद नाघेका पेय पर्दाथमा पनि कोक,फ्यान्टा,स्प्राईट र जुस प्रकृतिका सामाग्री बढी पर्छन् । उत्पादन मितिले २ महिना देखि ९ महिनाभित्रमा यस्ता प्रकारका पेय पर्दाथको म्याद सकिन्छ । यसको मारमा पनि खुद्रा व्यपारी पर्ने गरेको गुनासा आउने गरेका छन् ।‘ल्याउँदा ल्याउँदै म्याद सकिएपछि मात्रै आई पुगेको हुन्छ भनेर व्यवसायीले दुखेसो पोख्ने गरेको पाएँ‘अनुगमन टोली संयोजक तथा सहायक प्रजिअ अधिकारीले भन्नुभयो । उहाँले म्याद भएको सामाग्री मात्र खरिद गरी ल्याउन र मिति सकिएको अवस्थाको सामाग्रीलाई छुट्टै भण्डारण कक्ष बनाई राख्न व्यवसायीलाई सुझाउनु भएको छ । यसोगर्दा अनुगमनको मारमा नपर्ने उहाँको भनाई छ । म्याद सकिएका सामाग्री बोरामा प्याक गरेर म्याद सकिएको जनाएर राखेमा त्यसलाई फिर्ता पठाउन सकिने सुबिधा व्यवसायीले पाउँछन् । तर अहिले सम्म यसो हुन नसकेकोले व्यवसायीलाई यसका बारेमा पटकपटक सचेत गराईएको र अब भने‘एक्सन’मै उत्रिने आफुहरुको तयारी रहेको घरेलु कार्यालय ताप्लेजुङका प्रमुख देउप्रकाश तामाङले बताउनुभयो ।

फोटो ः बजार अनुगमनका क्रममा खाद्यबस्तुको म्याद भए÷नभएको निरीक्षण गर्दै ताप्लेजुङका सहायक प्रजिअ गायत्रा अधिकारी खड्का ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts