|

सिरिजंगाद्धारा ८५ प्रतिशत बेरुजु फस्र्योट गर्ने कर्मचारी र जनसहभागितामा आफ्नो टोल आफैं बनाउने टोल विकास संस्था पुरस्कृत

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २९ । स्थानीय सरकारहरु बेरुजुका चाङले थिचिएका सन्देशबाट आजित भएका नागरिकलाइ सुखद् समाचार दिदैं ८५ प्रतिशत बेरुजु फस्र्योट गर्न सफल कर्मचारीलाइ ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले नगद पुरस्कार सहित सम्मान गरेको छ । पालिकाले उत्कृष्ट र सृजनात्मक कार्य सम्पादन गर्ने ५ वटा टोल विकास संस्थालाइ समेत पुरस्कृत गरेको छ । तत्कालिन गाउँँ विकास समिति हुँदैबाट पालिकामा कायम रहदैं आएको ४ करोड ६२ लाख ५० हजार रुपैंया बेरुजुलाइ ६७ लाख रुपैंयामा झारेर करिव ८५ प्रतिशत बेरुजु फस्र्यौट भएपछि पालिकाले फस्र्यौटमा संलग्न कर्मचारीलाइ पुरस्कृत गरेको हो । पालिकाले शुक्रवार आयोजित पालिकाको रातो किताव सार्वजनिक गर्ने कार्यक्रमसंगै बेरुजु फस्र्यौटमा संलग्न कर्मचारी र टोल विकास संस्थालाइ पुरस्कृत गरेको हो ।

पालिका अध्यक्ष टीकाराम गुरुङका अनुसार बेरुजु फस्र्यौटमा संलग्न मध्ये प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे नगद १ लाख २५ हजार सम्मानित हुनुभयो । आर्थिक तथा राजश्व शाखा प्रमुख भूपेन्द्र बुढाक्षेत्री नगद १ लाख सहित सम्मानित हुनुभयो । सव ईञ्जिनियर रञ्जित लङ्वा र केशर प्रसाँइ तथा कम्युटर अपरेटर उज्वल श्रेष्ठलाइ उहाँहरुले खाइपाइ आएको १ महिनाको तलव बराबरको रकम पुरस्कार स्वरुप प्रदान गरिएको सिरिजंगा गाउँपालिकाले जनाएको छ । यस्तै पालिकाका सूचना प्रविधि बिज्ञ मनोज उप्रेती र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका लेखापाल शान्तिराम रेग्मी जनही नगद १५–१५ हजार रुपैंया सहित पुरस्कृत हुनु भएको छ । पुरस्कृत टोलीले नियमित गर्नुपर्ने,असुल उपर गर्नुपर्ने,प्रमाण कागजात पेश गर्नुपर्ने र पेश्की बेरुजु फस्र्यौटका लागि महिनौं सम्म दिनरात नभनी कार्य सम्पादन गरेका कारण पुरस्कृत गरिएको सिरिजंगा गाउँपालिकाले जनाएको छ । २०७७ साल मंसिरमा सम्पन्न नियमित गाउँसभा(आठौं)ले बेरुजुु फस्र्यौटमा उल्लेख्य काम गर्ने कर्मचारीलाइ पुरस्कृत गर्ने निर्णय लिएको थियो । गाउँपालिकाले उत्कृष्ट कार्य सम्पादन गर्ने ५ वटा टोल विकास संस्थालाइ समेत पुरस्कृत गरेको छ । सर्बोत्कृष्ट टोल विकास संस्था भने महिलाले नेतृत्व गरेको सिरिजंगा वडा नं ३ सिकैचा स्थित सिकैचा टोल विकास संस्था भएको छ । यो टोल विकास संस्थाले नगद १ लाख रुपैंयाका साथ सम्मानपत्र पाएको छ । यो टोल विकास संस्थाले जनसहभागितामा देउरालीबाट वडा कार्यालय जाने बाटोका लागि पालिकाले प्रदान गरेको २० वटा ग्याबिन जाली फिलिङ(भरेको) ग¥यो भने त्याङदेन देखि मिल जाने समेत गरी करिव ३ सय मिटर गोरेटो बाटो निर्माण गरेको थियो । यस्तै जनसहभागितामै हेमादिन जाने बाटोमा ठेस गाह्रो समेत लगाएको थियो । सिकैचा टोल विकास संस्थाको नेतृत्व शान्ति यवागु योङहाङले गर्नु भएको छ ।

सिरिजंगा वडा नं १ सिनाम स्थित पाथीभरा टोल विकास संस्थाले द्धितिय हुँदै नगद ७५ हजार रुपैंयाका साथ सम्मानपत्र पाएको छ । यो टोल विकास संस्थाले भूमीहिन स्थानीय जीतमाया गुरुङलाइ १२ जना जग्गा खरिद गरिदिएको थियो । स्थानीय जग्गादाताले १२ आना जग्गा दिएकोमा टोल विकास संस्थाले आफ्नै पल र प्रयासमा थप १२ जना जग्गा खरिद गरी भूमीहिन व्यक्तिलाइ उद्धार गर्न सहयोग गरेको थियो । यो टोल विकास संस्थाले आफुलाइ प्राप्त अनुदानलाइ सिमित स्रोतबाट पूरा गरी बाँकी रहेको रकम फिर्ता गरी आर्थिक मितव्ययिता कायम गरेको थियो भने वडा कार्यालय सहितका सार्वजनिक स्थलका सफाइमा समेत अग्रसरता लिएको थियो । सिरिजंगा वडा नं ३ सिकैचास्थित हेन्छेबुङ टोल विकास संस्थाले तृतिय हुँदै नगद ५० हजारका साथ सम्मान पत्र पायो । हेन्छेबुङले वडा कार्यालय जाने करिव ३ सय मिटर बाटो सोलिङ र बिभिन्न गोरेटोबाटो मर्मत र सफाइ गरेको थियो । सिरिजंगा वडा नं १ सिनाम स्थित मादीबुङ टोल विकास संस्था र सिरिजंगा वडा नं ५ पेदाङको माङ्जेवा टोल विकास संस्थाले क्रमशःचौथो र पाँचौं हुँदै जनही नगद २५ हजार रुपैंयाका सम्मान पत्र पाएका छन् । मादीबुङ टोल विकास संस्थामार्फत गोरेटोबाटो मर्मत र सफाइ,वातारणीय सफाइका लागि प्रत्येक घरधुरीमा प्लाष्टिकका बोरा झुण्ड्याउने कार्य,आफ्नो क्षेत्र भित्रका सार्वजनिक स्थलहरुमा बर्षमा ३ पटक सम्म सफाइ र मर्मतको कार्य भएको छ । यस्तै टोल विकास संस्थाहरुले मादक पदार्थको सेवन निरुत्साहनका लागि जनचेतनामूलक कार्य सञ्चालन,आफ्नो क्षेत्र भित्रका बिपद् पीडितहरुलाइ आर्थिक सहयोग तथा उद्धारका कार्य,प्राकृतिक स्रोत र साधनको दुरुपयोग नियन्त्रण लगायतका कार्यभार पूरा गरेका छन् । गाउँपालिकाले टोल विकास संस्था गठन तथा परिचालन सम्वधी ऐन २०७६ मार्फत पालिका भरी ७२ वटा टोल विकास संस्था गठन गरेको छ । सो ऐनको दफा २० मा टोल विकास संस्थाले सम्पादन गरेका क्रियाकलाप एवम् सोको प्रतिबेदनका आधारमा उत्कृष्ट र सृजनात्मक कार्य सम्पादन गर्ने तीनवटा संस्थालाइ बर्षेनि पुरस्कृत गर्ने उल्लेख गरिएको छ । ८ वटा वडा रहेको सिरिजङ्घा गाउँपालिकाका प्रत्येक वडामा ९ वटाका दरले ७२ वटा टोल विकास संस्था गठन भएका छन् । साविकका ८ वटा गाउँ विकास समिति मिलेर बनेको गाउँपालिकामा साविकका पुराना वडाहरुलाइ नै एउटा टोल विकास संस्थाको क्षेत्र मानेर साविकका ७२ वटा वडा क्षेत्र अहिले प्रत्येक एक टोल विकास संस्थाको कार्यक्षेत्रमा समेटिएका छन् । गाउँपालिकाले १० लाख रुपैंया भन्दा तल बजेट रहेका योजनाको कार्यान्वयन नै तिनै टोल विकास विकास संस्थामार्फत कार्यान्वयन समेत गर्दै आएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts