|

स्थानीय तहसंगको साझेदारीमा आँखा उपचारलाइ पनि आधारभूत स्वास्थ्यसंग जोड्दै नेत्र ज्योति संघ

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ३ । आँखा उपचारलाइ पनि आधारभूत स्वास्थ्यसंग जोड्ने मनशायका साथ नेपाल नेत्र ज्योति संघ ताप्लेजुङले स्थानीय तहसंगको साझेदारीमा गाउँ–गाउँमा आँखा उपचार केन्द्र स्थापनाको अगुवाइ गर्न थालेको छ । सदरमुकाम फुङ्लिङमा केन्द्रित रहेको रहेको आँखा उपचार सेवा चालू आर्थिक बर्षबाट गाउँ–गाउँमा बिकेन्द्रित गर्ने योजना अनुरुप बिभिन्न ठाउँमा उपचार केन्द्र स्थापना हुन थालेका छन् । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङका सभापति मुक्तिराज पौडेलका अनुसार मेरिङ्देन गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकाको आर्थिक साझेदारीमा दोभान बजारमा आँखा उपचार केन्द्र सञ्चालनमा आउन लागेको छ । ति पालिकाले चालू आर्थिक बर्षबाट अब सालिन्दा ३–३ लाख रुपैंया उपलब्ध गराउने छन् । आँखा उपचार केन्द्रको व्यवस्थापन,भवन सजावट लगायतका कार्यका लागि ति दुईपालिकाले आव २०७८।०७९ मा २–२ लाख रुपैंया उपलब्ध गराएको समेत पौडेलले जानकारी दिनुभयो । नेत्र ज्योति संघले उपचार केन्द्रका लागि आवश्यक पर्ने परीक्षण तथा उपचार उपकरण,खटिने जनशिक्तलाई तामिल र औषधि तथा चश्मा प्रवन्ध गर्ने छ । उपकरणको मर्मतसम्भार गर्ने,आँखा उपचार सेवा सञ्चालन गर्ने,खटिएका जनशक्तिलाइ सीप विकास तालिममा सहभागी गराउने र बर्षमा कम्तिमा एकपटक शल्यकृया सहितको आँखा शिविर सञ्चालन गर्ने कार्य नेत्र ज्योति संघले प्राविधिक सहयोग जुटाएर सेवा प्रवाह गर्ने नेपाल नेत्र ज्योति संघद्धारा फुङ्लिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका इञ्चार्ज काजीमान गुरुङले बताउनुभयो । नेत्र ज्योति संघ ताप्लेजुङले पाँचथरको कुम्मायक गाउँपालिकास्थित यासोक बजारमा समेत चालू आवबाटै आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउने भएको छ । भौगोलिक र सञ्चालन सुगमताका हिसावले समेत उपयुक्त रहेकोले आँखा उपचार केन्द्र सञ्चालनका लागि कुम्मायक गाउँपालिकासंग साझेदारी सम्झौता गरेको नेत्र ज्योति संघ ताप्लेजुङका सभापति पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार त्यहाँ अबको डेढ महिना भित्र आँखा उपचार केन्द्र सञ्चालनमा आइसक्ने छ । कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले आँखा उपचार सेवालाइ गाउँबाटै प्रवाह गर्नेगरी द्धिपक्षिय सम्झौता भएपछि अब गाउँ–गाउँबाटै आँखा उपचार सेवा लिन सहज हुने बिश्वास लिनुभयो । कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ र नेत्र ज्योति संघ ताप्लेजुङका सभापति पौडेल बीच आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउने प्रकृयामा दोहोरो सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ । जस अनुसार कुम्मायक गाउँपालिकाले नेत्र ज्योति संघलाइ अब निरन्तर रुपमा बार्षिक ७ लाख रुपैंया तथा केन्द्र सञ्चालनका लागि भवन उपलब्ध गराउने छ । नेत्र ज्योति संघले त्यहाँ कार्यरत प्राविधिक तथा उपचार केन्द्र सञ्चालनमा खटिएका कर्मचारीलाइ तलवभत्ता उपलब्ध गराउने,उपकरणको व्यवस्थापन गर्ने,मर्मत सम्भार गर्ने,खटिएका जनशक्तिलाइ सीप विकास तालिम उपलब्ध गराउने र बर्षमा कम्तिमा एकपटक शल्यकृया सहितको शिविर सञ्चालन गर्ने छ । नेत्र ज्योति संघले अबका सूचीमा पाँचथरको याङ्वरक स्थित थर्पु बजार क्षेत्र,ताप्लेजुङको सिरिजङ्घा स्थित तेल्लोक र फक्ताङ्लुङ गाउँपालिका स्थित सिँवा बजारमा आँखा उपचार केन्द्र स्थापनाका लागि प्रारम्भिक योजना बनाइ रहेको छ । शाखा सभापति पौडेलले पहिलो चरणमा दोभान र यासोकमा रहेका आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउने र त्यसपछि चर्चामा आएका अन्य स्थानहरुमा उपचार केन्द्र सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने तयारी सुनाउनुभयो । आँखा उपचारलाइ पनि आधारभूत स्वास्थ्यसंग जोड्ने मनशायका साथ नेपाल नेत्र ज्योति संघ स्थानीय तहसंगको साझेदारीका कार्य गर्न अग्रसर भएको उहाँले जानकारी दिनुभयो ।
फोटो ः पाँचथरको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ र नेत्र ज्योति संघ ताप्लेजुङका सभापति मुक्तिराज पौडेल यासोक बजारमा आँखा उपचार केन्द्र स्थापनाको सम्झौता पत्र आदान प्रदान गर्दै । तस्बिर ः खगेन्द्र ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts