ताप्लेजुङमा जारी निशेधाज्ञा २१ गते सम्मका लागि थप,हवाइ उडानका लागि आउन जान पाइने
ताप्लेजुङ,असार १३ । ताप्लेजुङमा असार २१ गते सम्मका लागि निशेधाज्ञा थप भएको छ । आइतवार बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले कोरोना संक्रमणको दरमा नियन्त्रणमा आउन अझै केहि समय लाग्ने देखिएकोले निशेधाज्ञाको अवधि असार २१ गते मध्यराती १२ बजे सम्मका लागि बढेको जानकारी दिनुभयो । ताप्लेजुङमा केहिदिन यता संक्रमणको दर अप्रत्यासित बढेकोले सावधानी र सजतामा कमी आउन नदिन प्रजिअ पाण्डेले सबैलाइ आग्रह गर्नु भएको छ । केहिदिन अघि सम्म सक्रिय संक्रमित भन्दा निको हुने दर बढी रहेकोमा अहिले संक्रमित थपिने क्रमा बढेकोमा उहाँले चिन्ता जनाउनु भएको छ । उहाँले सावधानीका उपायलाइ निरन्तर पालना गर्ने हो भने संक्रमणको अवस्थालाइ नियन्त्रणमा लिन सकिने बताउनुभयो । निशेधाज्ञा थप भएपनि यसका सर्तहरु भने खुकुलो बनाइएको छ । साविक झैं बिहान ११ बजे सम्म बजार पसल खुल्ने भएका छन् भने बचत संकलन बाहेक बैंक तथा बित्तीय संस्थाको कार्यालयको काम स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पलाना गरेर सुरु गर्न सकिने भएको छ । आन्तरिक हवाइ उडान समेत सुरु हुन लागेकोले टिकट देखाएर सुकेटार बिमानस्थल सम्म जान र आउन निजी तथा भाडाका सवारी प्रयोग गर्न पाइने भएको छ । तर त्यसका लागि आउने–जाने मान्छेको टिकक अनिवार्य हुनुपर्ने छ । यि बाहेक अन्य सवारी साधनको आवगमन माथिको प्रतिवन्ध भने कायम रहने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो ।