आगामी आवमा संकलन गरिने आन्तरिक आयका लागि फुङ्लिङले खुलायो ९ प्रकृतिको ठेक्का
ताप्लेजुङ,असार २ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८।०७९ को आन्तरिक आयका लागि ९ प्रकृतिका बस्तु तथा सेवाको ठेक्का आव्हान गरेको छ । प्रमुख प्रशासकीय बद्रीकुमार कार्कीका अनुसार आगामी आवमा आन्तरिक आय संकलनका नगरपालिकाले लागि असार १६ गतेमध्यान्ह सम्मको म्याद दिएर दरभाउपत्र दाखिला गरिसक्न भनेको हो । दरभाउपत्र भने असार १५ सम्ममा खरिद गरिसक्नुपर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले जडिबुटी,वन पैदावार,कवाडी तथा जीवजन्तु कर संकलनका लागि न्यूनतम् ठेक्का रकम १३ लाख २० हजार रुपैंया कायम गरेको छ । यस्तै स्थानीय पूर्वाधार उपयोग सेवाका लागि न्यूनतम् १ लाख ५० हजार,तमोर नदीको दोभान क्षेत्रबाट थाङ्नेखोला दोभान सम्मको क्षेत्रबाट ढुङ्गा,गिटी,रोडा तथा बालुवाको शुल्क संकलनका लागि न्यूनतम् ९ लाख ९० हजार,तमोर नदीको थाङ्नेखोला दोभान देखि हिरेवाखोला दोभान सम्मको क्षेत्रबाट ढुङ्गा,गिटी,रोडा तथा बालुवाको शुल्क संकलनका लागि ११ लाख र तमोर नदीको भाटेघाट भन्ने स्थानबाट ढुङ्गा,गिटी,रोडा तथा बालुवाको शुल्क संकलनका लागि न्यूनतम् ३ लाख ५१ हजार रुपैंया ठेक्का रकम तोकिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत कार्कीका अनुसार खोला बाहिरका ढुङ्गा,गिटी,रोडाको उत्खनन् गरी जिल्ला भित्र र बाहिर बिक्री तथा निकासी गर्दाको न्यूनतम् ठेक्का रकम ७ लाख,भेदाबारी पुछार,खड्कुडे आसपास तमोर नदी क्षेत्रभित्रको ढुङ्गा,गिटी,रोडा र बालुवाको उत्खनन् गरी जिल्ला बाहिर बिक्री तथा निकासी गर्दाको न्युनतम् ठेक्का शुल्क ३ लाख ५१ हजार,हाट बजार शुल्क संकलन न्यूनतम् २ लाख ५० हजार र विज्ञापन कर संकलनको ठेक्का शुल्क न्यूनतम् ५ लाख रुपैंया कायम गरिएको छ । सबैको धरौटी रकम कवोल अंकको ५ प्रतिशत कायम गरिएको समेत कार्कीले जानकारी दिनुभयो ।