| |

फुङ्लिङ बजारभित्रको पुरै सडक कालोपत्रे र ढलान

अरुलाई पनि शेयर गरौ !

टीका यक्सो लिम्बू
ताप्लेजुङ, जेठ ३० ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ भित्रको पूरै सडक कालोपत्रे र ढलान गरिएको छ । सदरमुकाम फुङ्लिङ बजारभित्रको मुख्य सडक पूरै (वारपार) कालोपत्रे र ढलान गरिएको हो ।
फुङ्लिङ बजारको तोक्मे डाँडादेखि टुक्रे बजारसम्म केही ठाउँमा रड, गिटीसहित ढलान गरिएको छ भने अधिकांश सडकको क्षेत्र कालोपत्रे गरिएको छ । बजारभित्रको सडक पहिले कालोपत्रे गरिएको भए पनि ठाउँ–ठाउँमा भत्किएर सवारी साधन सञ्चालनमै अप्ठ्यारो हुँदै आएकोमा पुनः कालोपत्रे र ढलानसहित मर्मत सुधार गरिएपछि सहज भएको छ ।
सडक डिभिजन इलाममार्फत कार्यान्वयन भएको करिव डेढ करोड रुपियाँ बराबरको बजेटले कालोपत्रे, ढलान लगायत अन्य सडकको मर्मत सुधारको कार्य गरिएको कञ्चनजङ्घा निर्माण सेवाले जनाएको छ । निर्माण कम्पनी कञ्चनजङ्घा निर्माण सेवाका प्रतिनिधि विनोद भारतीका अनुसार फुङ्लिङ बजारभित्रको मुख्य सडकमा वारपार कालोपत्रे गरिएको छ ।
पहिले ढलान भई भत्किएको टुक्रे रेडक्रस क्षेत्रको सडक पुनः ढलान गरिएको भारतीले बताउनुभयो । यस्तै सोही बजेटले कोप्चे बजारको देवीथान धारादेखि कञ्चनजङ्घा बोर्डिङ–रिजाल लाइन सडकमा ठाउँ–ठाउँमा ढलान गर्ने, वाल, नाली निर्माणको कार्य गरिएको छ भने सुकेटार क्षेत्रको सडकमा पनि भत्किएको ठाउँमा मर्मत सुधारको कार्य गरिएको छ । सदरमुकाम बजारभित्रको मुख्य सडक कालोपत्रे, ढलान र अन्य निर्माणको कार्य करिव अन्तिम चरणमा पुगेको पनि भारतीले बताउनुभयो ।
यता कालोपत्रे र ढलानसहित बजारभित्रको सडक निर्माणले यातायात सञ्चालनमा सहज भएको फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले बताउनुभयो । बजारभित्रको सडक पहिले नै कुनै क्षेत्र कालोपत्रे र कुनैमा ढलान गरिएको भए पनि ठाउँ–ठाउँ भत्किएर खाल्डाखुल्डी बनिसकेको अवस्थामा पुनः मर्मत सुधारले सवारी साधन चलाउनलाई सहज भएको नगर प्रमुख प्याकुरेलको भनाइ छ । त्यस्तै सडकको मर्मत सुधारले बजारको सौन्दर्यता पनि बढाएको उहाँ बताउनुहुन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts