मंगलबार ५ हजार १५३ जनामा कोरोना संक्रमण पुष्टि, १०८ को मृत्यु

काठमाडौं, जेठ २५ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा मंगलबार गरिएको पीसीआर परीक्षणमा ३ हजार ८७० जना र एन्टिजेन परीक्षणमा १ हजार २८३ जनामा कोरोना पुष्टि भएको हो ।
पीसीआर विधिबाट १२ हजार ६५ जनामा परीक्षण गरिएको थियो भने एन्टिजेन विधिमार्फत ५ हजार ६११ जनाको स्वास्थ्य परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना देखिनेको संख्या ५ लाख ९५ हजार ३६४ पुगेको छ ।
यस्तै, २४ घण्टामा ६ हजार ५७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १०८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ ।