|

बजेट अधिबेशनको तयारीमा सिरिजङ्घा,बिषयगत र वडागत बजेट सिलिङ र मार्ग निर्देशन तोकियो,बजेट कोभिड बिरुद्ध केन्द्रित हुने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ, जेठ २० । असारको पहिलो साता अगावै आर्थिक बर्ष २०७८।०७९ को बजेट तथा नीति कार्यक्रम प्रस्तुत गर्ने योजना बनाएको सिरिजङ्घा गाउँपालिकाले बजेट सिलिङ,मार्गर्दशन र बजेट निर्माण कार्यतालिका सार्वजनिक गरेको छ । आर्थिक,सामाजिक,पूर्वाधार विकास,वन वातावरण तथा बिपद् व्यवस्थापन र सार्वजनिक सेवा तथा क्षमता विकास गरी ५ बिषयका क्षेत्रगत मार्गदर्शन तयार पारेको पालिकाले २५ जेठ भित्र बिषयगत ५ सहित गाउँ कार्यपालिकाको कार्यालय र सबै वडा समितिको बजेट निर्माण कार्य पूरा गर्नुपर्ने तालिका सार्वजनिक गरेको हो । २ असारमा बजेट तथा कार्यक्रम तर्जुमा समितिले गाउँ कार्यपालिकाको कार्यालय,सबै बिषयगत समिति र सबै वडा समितिबाट प्राप्त कार्यक्रमलाइ समाबेश गरी मार्गदर्शन बमोजिम कार्यक्रमहरु समाबेश गरिएको पालिकाको बिनियोजन बिधेयक २०७८ को मस्यौदा तयार गरी कार्यपालिका बैठकमा पेश गर्ने भएको छ । स्थानीय राजश्व परार्मश समितिले उसैदिन आर्थिक बिधेयक २०७८ को मस्यौदा तयार गरी गाउँपालिका अध्यक्ष टीकाराम गुरुङमार्फत कार्यपालिकाको बैठकमा पेश गर्ने तालिका बनेको छ । यि सबै क्रियाकलाप तथा बजेट निर्माण तालिका पूरा गरी ३ असारमा बस्ने कार्यपालिकाको बैठकले बजेट,नीति कार्यक्रम सार्वजनिकीकरण गर्ने मिति निर्धारण गर्ने प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो । गाउँपालिकाले कार्यपालिकाको चालूखर्चका लागि ६ करोड ९२ लाख ५० हजार रुपैंयाको अनुमानित सिलिङ निर्धारण गरेको छ ।

यस्तै आर्थिक विकासतर्फ ९७ लाख,सामाजिक विकासतर्फ ३ करोड ७५ लाख ५० हजार,पूर्वाधार विकासतर्फ ९ करोढ ९० लाख,वन,वातावरण तथा बिपद् व्यवस्थापनतर्फ ६० लाख,संस्थागत विकास तथा सेवा प्रवाहतर्फ २० लाख र समपुरक कोषतर्फ १ करोड रुपैंयाको सिलिङ निर्धारण गरेको छ । उसले आयतर्फ नेपाल सरकारबाट बित्तीय समानीकरण बापत प्राप्त हुने १२ करोड १३ लाख,राजश्व बाँडफाँडतर्फ ६ करोड ६८ लाख ५७ हजार रुपैंया हुने अनुमानित आय सिलिङ निर्धारण गरेको छ । यस्तै प्रदेश सरकारबाट प्राप्त हुने बित्तीय समानीकरणको अनुदान ७० लाख ३८ हजार तथा सवारी साधन कर बाँडफाँडतर्फ ३८ लाख ४२ हजार ९ सय,नेपाल सरकारको रोयल्टी बाँडफाँडतर्फ ५ लाख,घरजग्गा रजिष्ट्रेन बाँडफाँडबापत १० लाख,प्रदेश सरकारबाट आउने दहत्तर बहत्तर बाँडफाँड बापत अनुमानित ५ लाख र आन्तरिक आयतर्फ २२ लाख ४६ हजार २ सय १० रुपैंया गरी कूल २३ करोड ३५ लाख रुपैंयाको आम्दानी तथा खर्च सिलिङ निर्धारण गरेको छ । पालिकाले वडा नं १ सिनाम,वडा नं ४ तेल्लोक,वडा नं ७ खेवाङ र वडा नं ८ याम्फुदिनका लागि २२–२२ लाख रुपैंयाको बजेट सिलिङ दिएको छ । यस्तै वडा नं २ आम्बेगुदिनका लागि ६२ लाख,वडा नं ३ सिकैचाका लागि ४२ लाख,वडा नं ५ पेदाङ र वडा नं ६ मामाङ्खेका लागि ३२–३२ लाख रुपैंयाको वडागत सिलिङ दिएको छ । सिरिजङ्घाले आर्थिक विकासतर्फ सिरिजङ्घाको सान,उद्यमशील किसान’कार्यक्रम अन्र्तगत पालिकाका सबै वडाहरुमा स्थानीय हावापानी र भूगोल सुहाउँदो कृषकको मागमा आधारित कृषिजन्य उत्पादन अभिबृद्धि हुने किसिमका कार्यक्रम सञ्चालनका लागि निरन्तरता दिने,गाउँपालिकाको दीर्घकालिान आम्दानी अभिबृद्धि हुने खालका कार्यक्रम तय गर्ने,सामाजिक विकासतर्फ विश्वब्यापी महामारीको रुपमा फैलिइ रहेको कोभिड १९ संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि उपयुक्त कार्यक्रम तर्जुमा गर्ने,पालिका क्षेत्रका सामुदायिक बिद्यालयहरुमा कक्षा ११ र १२ सम्म अध्ययन गर्ने सम्पूर्ण बिद्यार्थीहरुलाइ निःशुल्क रुपमा अध्यापन गराउने,कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने सम्पूर्ण बिद्यार्थीलाइ बिद्यालय झोला र पोशाक निःशुल्क उपलब्ध गराउने,निःशुल्क छात्रबृत्तिमा उच्च शिक्षा अध्यापन गराउने लगायतका कार्यक्रम तय गर्न मार्गनिर्देश गरिएको छ ।

यस्तै गाउँमै रोजगार गर्वको आधार,सीप सिकौं आत्मनिर्भर बनौं लगायतका कार्यक्रमका साथ नागरिक उपचार सहयाता कोषमा पर्याप्त रकम बिनियोजन गर्न समेत भनिएको छ । पूर्वाधारतर्फ पालिकाको प्रमुख प्रशासकीय भवन तथा बिभिन्न ६ वटा वडाको प्रशासकीय भवन लगायत अन्य बहुबर्षिय योजना सम्पन्न गर्नका लागि रकम बिनियोजन गर्ने र ३ लाख भन्दा माथिका योजना मात्र सञ्चालनमा ल्याउने गरी कार्यक्रम तय गर्ने मार्ग निर्देशन दिइएको छ । वन,वातावरणतर्फ प्रकोप व्यवस्थापन कोष र कोरोना बिरुद्धका कार्यक्रम तय गर्न भनिएको छ । यस्तै सार्वजनिक सेवा तथा क्षमता विकासतर्फ नियमित सेवा प्रवाहका लागि गाउँ कार्यपालिकाको चालू खर्च शीर्षकतर्फ आवश्यक रकम बिनियोजन गर्ने,न्यायिक समितिको संस्थागत क्षमता अभिबृद्धि हुने किसिमका कार्यक्रम तर्जुमा गर्ने र जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिबृद्धि हुने किसिमका कार्यक्रम तर्जुमा गर्न गाउँपालिकाले मार्ग निर्देश गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts