ताप्लेजुङमा ९१० जनाले लगाए कोरोना खोपको ‘दोस्रो डोज’
–उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ १९ । ताप्लेजुङमा नौ सय बढीले दोस्रो चरणको कोरोना भाइरस (कोभिड–१९) बिरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार छ दिनसम्म सञ्चालित खोप अभियानअन्तर्गत कुल नौ सय १० जनाले दोस्रो चरणको खोप लगाएका हुन् ।
स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार गत जेठ ११ गते मंगलबारदेखि १६ गते आइतबारसम्म दोस्रो चरणमा खोप अभियान सञ्चालन गरिएको थियो । उक्त अवधिमा खोप लगाउने कुल सङ्ख्यामध्ये पाँचसय ३६ जना पुरुष र तीन सय ७४ जना महिला रहेका छन् । हालको कोरोना महामारीको समयमा अग्र भागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्यलाई खोप लगाउने योजना रहे पनि सर्वसाधारण समेतले खोप लगाएका खरेलले जानकारी दिनुभयो ।
सदरमुकाम फुङ्लिङलाई केन्द्रित गरेर खोप अभियान सञ्चालन गरे पनि सदरमुकाम बाहिरका समेतले खोप लगाएका उहाँले बताउनुभयो । सीमित खोप भएकाले यसपटक सबै लाभग्राहीले खोप लगाउन नापएका पनि उहाँले बताउनुभयो । खोप सकिएपछि आइतबार अस्पताल पुगेका करिव डेढ सय जनाले खोप नलगाई फर्किनुपरको जिल्ला अस्पतालकी सिनियर अहेव लक्ष्मीमाया वनेमले जानकारी दिनुभयो ।
यता पहिलो चरणमा खोप लगाउनेको सङ्ख्याका आधारमा स्थानीय तहहरुको मागअनुसार खोप उपलब्ध गराउने योजना रहेको पनि जनस्वास्थ्य अधिकृत खरेलले बताउनुभयो । जिल्लामा खोप अभाव र माग बढेपछि खोप ल्याउनका लागि स्वास्थ्य कार्यालयको निमित्त प्रमुख राजकुमार पोख्रेल विराटनगर गइसक्नुभएको पनि उहाँले जानकारी दिनुभयो । ताप्लेजुङमा पहिलो चरणमा गत माघ १५ गतेदेखि २३ गतेसम्म र फागुन २ गतेदेखि १० गनेसम्म कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो ।