| |

सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने निर्णय नसच्याए सशक्त प्रतिरोध गर्ने चेतावनी

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ १६ ।
ताप्लेजुङस्थित सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने सरकारको निर्णयप्रति जिल्लाबासीले आपत्ति जनाएका छन् । सरकारद्वारा शनिबार प्रस्तुत बजेट वक्तब्यमार्फत सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल बनाउनेगरी गरेको निर्णयप्रति जिल्लाबासीले आपत्ति जनाउँदै विरोध गरेका हुन् ।
सुकेटार विमानस्थल इतिहासदेखि स्थापित नाम भएको र ताप्लेजुङबासीको गौरवको रुपमा रहेको पर्यटकीय स्थलभन्दै नाम परिवर्तन गरी रवीन्द्र अधिकारी विमानस्थल नामाकरण गर्ने सरकारको सरकारको निर्णय तत्काल सच्याउन पनि माग गरिएको छ । सबै क्षेत्रका जिल्लाबासीले विभिन्न सामाजिक सञ्जालमार्फत घोर विरोध गरेका छन् भने जिल्लास्थित सात राजनीतिक दलले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नाम परिवर्तनको विरोध गरेका छन् ।
नेपाली काँग्रेसका जिल्ला उपसहभापति मणिप्रसाद लाबुङ, नेकपा (माओवादी केन्द्र) का जिल्ला अध्यक्ष विजयप्रकाश वनेम, नेकपा एमालेका (नेपाल–खनाल समूह) जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङ, जनता समाजवादी पार्टीको जिल्ला अध्यक्ष कीर्तिमान मादेन, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सदस्य यामकुमार दाहाल, सङ्घीय लिम्बुवान मञ्च नेपालका जिल्ला सचिव अशोक मादेन र राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष इन्द्र थलङद्वारा हस्ताक्षरित विज्ञप्तिमा जिल्लाबासीको भावना विपरीत र इतिहास, पहिचान र मौलिक संस्कृतिमाथि आक्रमण भएको उल्लेख गरिएको छ । नाम परिवर्तनले सिङ्गो जिल्लाबासीको विकास र समृद्धिमा आँच पु¥याउने काम भएको र स्थानीय जनताको मौलिकतामाथि हस्तक्षेप भएकाले कुनैपनि हालतमा सरकारको निर्णय अस्वीकार्य हुने दलहरुले जनाएका छन् ।
पाथीभरा क्षेत्रभित्र रवीन्द्र स्मृति पार्क बनाउने विषयमा जिल्लाबासीको सहमति रहेको र यसले जिल्लाबासीको तर्फबाट स्वर्गीय पर्यटनमन्त्री अधिकारीप्रति सम्मान रहेको विज्ञप्तिमा उल्लेख छ । तर, सुकेटार विमानस्थलमा अधिकारीको नाम जोडेर विवाद सिर्जना गर्नुले उहाँको अपमान भएकोसमेत विज्ञप्तिमा भनिएको छ । सुकेटार विमानस्थलको नाम परिवर्तन निर्णय जनविरोधी कदम भएको र उक्त निर्णय सरकारले नसच्याए जिल्लाबासीले सशक्त प्रतिरोध गर्ने पनि जनाएका छन् ।
रवीन्द्र अधिकारी विमानस्थल नामाकरण गर्ने निर्णय तत्काल सच्याउनका लागि सोमबार सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय भएको पनि माओवादी केन्द्रका जिल्ला अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । यस्तै आइतबार नै अखिल क्रान्तिकारी ताप्लेजुङले पनि प्रेस विज्ञप्ति प्रकाशित गरी सुकेटार विमानस्थलको नाम परिवर्तन गरेका विरोध जनाएको छ । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष किरण लिङ्देनद्वारा हस्ताक्षरित विज्ञप्तिमा सुकेटारको विकल्पमा सुकेटारभन्दा अरु कुनै नाम हुन नसक्ने उल्लेख गरिएको छ । रवीन्द्र अधिकारी विमानस्थल नामाकरण गर्ने निर्णय तत्काल नसच्याए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत अखिल क्रान्तिकारीले दिएको छ ।
पूर्वमन्त्री योगेशकुमार भट्टराईले पनि सुकेटार विमानस्थलको नाम परिवर्तनका विषयमा आफ्नो सामाजिक सञ्जालमार्फत विरोध जनाउनुभएको छ । उहाँले ऐतिहासिक रुपमा स्थापित स्थलको नाम परिवर्तन गर्नुपूर्व स्थानीय सरोकारवालासँग छलफल तथा विमर्श नगरी निर्णय लिनु गतल भएको उल्लेख गर्नुभएको छ ।
सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को शनिबार बजेट प्रस्तुत गर्दै सुकेटारलाई रवीन्द्र अधिकारी विमानस्थल र प्रस्तावित तेह्रथुमको चुहानडाँडा विमानस्थललाई आङ्छिरिङ शेर्पा विमानस्थल नामाकरण गरिएको उल्लेख गर्नुभएको थियो । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारी र पर्यटन व्यवसायी शेर्पासहित सात जनाको २०७५ साल फागुन १५ गते ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts