| |

सामुदायिक वनद्वारा शत्–प्रतिशत प्रगति हासिल

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ १४ ।
ताप्लेजुङस्थित सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघले गरेको क्रियाकलापमा शत्–प्रतिशत प्रगति हासिल गरेको छ । जिल्ला महासंघले सार्वजनिक सुनुवाई गर्दै चालू आर्थिक वर्ष २०७७/७८ मा गरेको क्रियाकलापमा शत्–प्रतिशत प्रगति भएको जनाएको हो ।
कोरोना महामारीकाबीच स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सदरमुकाम फुङ्लिङमा गरिएको सार्वजनिक सुनुवाइमा महासंघले तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्र संरक्षण आयोजनाको आर्थिक सहयोगमा कार्यक्रमहरु गरेको जनाएको छ । चालू आवमा टीएमजेको कुल ९७ लाख ५२ हजार ६७८ रुपियाँ बराबरको बजेट सहयोगबाट वन संरक्षणसम्बन्धीका क्रियाकलापहरु गरेको र सबै रकम कार्यान्वयन भई यसबाट शत्–प्रतिशत प्रगति हासिल गरेको कार्यक्रम संयोजक राजन बस्यालले जानकारी दिनुभयो ।

कार्यक्रम संयोजक बस्यालका अनुसार निजी तथा कृषि वन प्रवर्द्धन, सार्वजनिक जग्गा तथा सडक छेउछाउमा गरिने वृक्षरोपण, समुदायमा आधारित चोरी शिकार नियन्त्रण लगायत विभिन्न शीर्षक अन्तर्गतका क्रियाकलापहरु गरिएका छन् । टीएमजेको कार्यक्षेत्रभित्र पर्ने जिल्लाको आठराई त्रिबेणी, मैवाखोला, मिक्वाखोला, मेरिङ्देन र फक्ताङ्लुङ गाउँपालिकाका विभिन्न ७१ वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत योजनाहरु कार्यान्वयन गरिएको उहाँले जानकारी दिनुभयो ।
वन तथा वातारण संरक्षणसँग सम्बन्धित योजनाअन्तर्गत गोरेटो बाटो मर्मत तथा काठेपुल निर्माण, समुदायलाई स्टिलका थाचे (खम्बा) वितरण, पदमार्ग तथा विश्रामस्थल निर्माण लगायतका पूर्वाधारका कार्यहरुसमेत गरेको जिल्ला महासंघका अध्यक्ष सुरज ओझाले जानकारी दिनुभयो । महासंघले कार्यक्रम कार्यान्वयनलाई प्राथमिकतामा राखेर क्रियाकलाप गरेका कारणले शत्–प्रतिशत प्रगति हासिल गर्न सफल भएको अध्यक्ष ओझाले बताउनुभयो ।

यता समयमै बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न सफल भएकोमा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले महासंघलाई धन्यवाद दिनुभयो । महासंघले गरेका कतिपय योजनाहरुको आफू स्वयंले पनि अनुगमन तथा निरीक्षणसमेत गरेको र काम सन्तोषजनक भएको आफूले पाएको मादेनले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले पनि कोभिड–१९ महामारीकाबीच वन संरक्षणसम्बन्धी महासंघले गरेको क्रियाकलापको प्रशंसा गर्नुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts