|

नेपाल १७१ औं स्थानमा यथावत

अरुलाई पनि शेयर गरौ !

काठमाडौं, जेठ १३ । फिफा वरीयतामा नेपाल १७१ औं स्थानमा यथावत रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल यथावत रहेको हो । अप्रिल ७ मा पनि नेपाल १७१ औं स्थानमै थियो । पछिल्लो वरीयतामा जम्मा एक स्थानमा मात्र परिवर्तन भएको छ । युक्रेनसँग गोलरहित बराबरी खेलेको बहराइन एक स्थान सुधार गर्दै ९८ औं स्थानमा उक्लँदा किर्गिस्तान ९९ औं स्थानमा झरेको छ ।
फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोली हाल मैत्रीपूर्ण खेलका लागि इराकमा छ । नेपालले शनिबार पूर्व एसियन च्याम्पियन तथा ६८ औं वरीयतामा रहेको इराकसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
दक्षिण एसियाली राष्ट्रमा वरीयतामा नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १०५ औं र माल्दिभ्स १५५ औं स्थानमा रहेको छ । यस्तै नेपालभन्दा पछि बंगलादेश १८४ औं, भुटान १८७ औं, पाकिस्तान १९९ औं र श्रीलंका २०४ औं स्थानमा छन् ।
विश्व वरीयताको शीर्ष दशमा कुनै परिवर्तन भएको छैन । शीर्ष १० मा युरोपबाट ७ टिम रहँदा दक्षिण अमेरिकाबाट तीन टिम ब्राजिल, अर्जेन्टिना र उरुग्वे छन् । युरोपियन राष्ट्र बेल्जियम शीर्ष स्थानमा यथावत रहँदा विश्वविजेता फ्रान्स दोस्रो स्थानमा छ । यस्तै ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो, पोर्चुगल पाँचौ, स्पेन छैटौं, इटाली सातौं, अर्जेन्टिना आठौं, उरुग्वे नवौं र डेनमार्क दशौं स्थानमा छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts