| |

उपभोग्य वस्तुको मूल्य वृद्धिबारे स्थानीय प्रशासनको चासो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ११ ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिबारे स्थानीय प्रशासनले चासो देखाएको छ । कोरोना महामारीको मौका छोपी व्यापारी तथा व्यवसायीले आफूखुशी उपभोग्य वस्तुको मूल्य बढाएकोभन्दै चौतर्फी विरोध र आलोचना हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले चासो देखाएको हो ।
ताप्लेजुङ उद्योग बाणिज्य संघलाई मङ्गलबार पत्राचार गर्दै प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले २४ घण्टाभित्र उपभोग्य वस्तुको अवस्था र मूल्यबारे अवगत गराउन भन्नुभएको छ । “गत २०७८ बैशाख २० गतेभन्दा अघिको खाद्यान्नहरुको मौज्दात, मूल्यसूची र बैशाख २० गतेदेखि २०७८ जेठ १० गतेसम्मको खाद्यान्नको मौज्दात र मूल्यसूचीको विवरण पत्र प्राप्त भएको २४ घण्टाभित्र प्रशासन कार्यालयमा उपलब्ध गराउन अनुरोध छ” प्रजिअ पाण्डेद्वारा प्रेषित पत्रमा भनिएको छ ।
जिल्लामा कोरोना संक्रमण तीब्र रुपमा फैलिएसँगै निषेधाज्ञा लागू गरिएको र निषेधाज्ञा सुरु भएको केही दिनबाटै फुङ्लिङ बजारमा उपभोग्य वस्तुको मूल्य बढाउन थालिएको थियो । सोमबार मात्र सामानको मूल्य वृद्धिसँगै ढुवानी शुल्कसमेत बढेकोभन्दै ताप्लेजुङ उद्योग वाणिज्य संघले नै मूल्य वृद्धिसहितको उपभोग्य वस्तुको मूल्य निर्धारण गरी सार्वजनिक गरेको थियो । उद्योग बाणिज्य संघले निर्धारण गरेको उपभोग्य वस्तुको मूल्य सार्वजनिक गरिएपछि झनै सर्बत्र चर्चा र आलोचना बढेपछि स्थानीय प्रशासनको ध्यान गएको पाइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts